सेभिल्लासँगको खेलअघि कोम्यानको बोली– ‘हामी अझै पनि सबै उपाधि जित्न सक्छौं’

एजेन्सी, माघ २७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड काम्यानले आफूहरूले यो सिजन बाँकी रहेका सबै प्रतियोगिता जित्न सक्ने दाबी गरेका छन् । बुधबार कोपा डेल रे कपको सेमिफाइनलमा ला लिगा टोली सेभिल्लासँगको खेलअघि प्रेस कन्फेरेन्समा सहभागी हुँदै डच म्यानेजरले यस्तो दाबी गरेका हुन् । कोपाको फाइनल जानका लागि बार्सिलोनाले सेमिफाइनलमा पहिलो लेगको खेल सेभिल्लाको घरेलु मैदानमा भोलि राति खेल्दै छ ।

पछिल्लो समय सेभिल्ला उत्कृष्ट लयमा छ । ऊ अहिले ला लिगामा टप–४ मा छ । सेमिफाइलनमा होम एन्ड अवे गरी दुई लेगमा खेल हुनेछन् । लिगका दुई बलिया टोली फाइनल प्रवेशका लागि आपसमा भिड्ने भएकाले यो सेमिफाइनललाई ठूलो खेल मानिएको छ । अहिले प्रतियोगितामा रहेका टिममध्ये यी नै दुईलाई प्रमुख दाबेदार टिम पनि मानिएको छ । सेमिमा सेभिल्लाले बार्सिलोनालाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

सेभिल्लासँग सेमिको पहिलो लेगको खेल खेल्नुअघि पत्रकारले कोम्यानलाई खेलको तयारीबारे र यो सिजनको लक्ष्यबारे पनि प्रश्न गरेका थिए । सोक्रममा उनले बार्सिलोना अहिले बाँकी रहेका सबै प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्पा गरिरहेको उल्लेख गर्दै बाँकी सबै उपाधि जित्न सक्ने दाबी कोम्यानले गरे । ‘बार्सिलाना अहिले सबै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ । हामी अहिलेकै अवस्थामा पनि सबै प्रतियोगिताको उपाधि होडमा छौं । र, हामी तीनवटै उपाधि जित्न सक्छौं,’ कोम्यानले भने, ‘तर, हामीले वास्तविक बार्सिलोनाले जस्तो खेल्नुपर्छ । उपाधिको लक्ष्य लिएर अघि बढ्नुपर्छ । हामीसँग विश्वकै उत्कृष्ट खेलाडी छन् । र, यो टिमले हरेक उपाधि जित्न सक्छ ।’

कोम्यानले बार्सिलोना मेस्सीप्रेरित रहे पनि मेस्सीमाथि नै निर्भर नरहेको पनि बताए । ‘पछिल्ला केही खेलबाट टिम मेस्सीमाथि नै निर्भरजस्तो देखियो होला । तर, त्यस्तो होइन । बार्सिलोना लामो समयदेखि मेस्सीप्रेरित छ तर पूर्ण निर्भर होइन । किनभने, मेस्सीबिना पनि हामीसँग एक बलियो टिम छ । तर, मेस्सी हुँदा र नहुँदा धेरै ठूलो फरक पर्छ,’ कोम्यानले भने ।

सेभिल्लासँगको खेलबारे बोल्दै कोम्यानले आफूहरू व्यस्त तालिकाबाट आएकाले खेलाडीमा चोट र थकानको पिरलो रहे पनि सेभिल्लालाई हराउन तयार रहेको बताए । ‘पछिलो समय हामी निकै व्यस्त खेल तालिका छिचोल्दै आएका छौं । लगातारका खेलले खेलाडीमा थकान र चोटको असर छ । तर, उपलब्ध टिमबाटै हामी सेमिफाइनल खेलका लागि तयार छौं,’ कोम्यानले भने, ‘हामी सेभिल्लाविरुद्ध दुवै लेग जित्न र फाइनल पुग्न चाहन्छौं ।’

सेभिल्लाले बार्सिलोनालाई चुनौती दिन सक्ने विषयमा कोम्यानले भनेका छन्, ‘पछिल्लो समय सेभिल्लाले धेरै कुरा जितेको छ । उनीहरू अहिले उच्च मनोबलमा छन् । उनीहरूले हाम्रो अवस्था र तयारीलाई राम्रोसँग अनुसन्धान गरेका छन् । तर, हामी तयार छौं । यो एक ठूलो खेल हुनेवाला छ ।’

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार १३:३४
Loading...