रोनाल्डोलाई उछिन्दै लुकाकु सर्वाधिक गोलकर्ता : यस्तो छ ताजा स्थिति

काठमाडौं, फागुन १०
इटालियन सिरी ए लिग फुटबलको सर्वाधिक गोलकर्ताको दौडमा इन्टर मिलानका रोमेलु लुकाकु सबैभन्दा अगाडि पुगेका छन् । उनले युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । ताजा अवस्थामा बेल्जियमका लुकाकुले पोर्चुगलका रोनाल्डोलाई १ गोलले पछि पार्दै एकल सर्वाधिक गोलकर्ता बनेका हुन् ।

गत राति सिजनको दोस्रो मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई उसकै घरेलु मैदानमा ०–३ ले हराउनेक्रममा लुकाकुले १ गोल गरेका थिए । सो गोलको मदतमा उनले रोनाल्डोलाई पछि पारेका हुन् । अब लकाकुको कूल लिग गोल संख्या १७ पुगेको छ भने युभेन्टसका रोनाल्डोका नाममा १६ गोल छ ।

गत राति लुकाकुले एसी मिलानविरुद्ध १ गोल गर्नुअघिसम्म दुवैका नाममा समान १६–१६ गोल थियो । लुकाकुले हालसम्म कूल २२ खेलबाट १७ गोल गरेका छन् । यता, उनीभन्दा १ गोलले पछि रहेका रोनाल्डोले भने १८ खेलबाट १६ गोल गरेका छन् । लुकाकुले रोनाल्डोको भन्दा ४ खेल बढी खेलेर १ गोल बढी गरेका छन् ।

युभेन्टसले आजै राति लिगमा क्रोटोनेसँग आफ्नो खेल खेल्दै छ । युभेन्टसको मैदानमा हुने सो खेलमा रोनाल्डोले कम्तीमा १ गोल गरे लुकाकुसँग बराबरी गर्नेछन् भने त्योभन्दा बढी गोल गरे आफू शीर्ष स्थानमा उक्लिनेछन् । आज लिगको २०औं स्थानको टिमविरुद्ध खेल्दा रोनाल्डोलाई सकेसम्म धेरै गाल गर्ने अवसर छ ।

ताजा अवस्थामा टप–५ गोलकर्ता

१. रोमेलु लुकाकु – १७ गोल
२. क्रिस्टियानो रोनाल्डो – १६ गोल
३. लुइस मुरिएल – १४ गोल
४. सिरो इम्मोबिले – १४ गोल
५. ज्लाटन इब्राहिमोभित – १४ गोल

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०३:००
Loading...