‘रियल मड्रिडले १० वर्ष ला लिगा नखेले पनि उनीहरूले हामीलाई भेट्दैनन्’

एजेन्सी, माघ २४
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदान खरो रूपमा मिडियामाथि खनिएका छन् । पछिल्लो समय लगातार आफ्नो आलोचना गर्ने र आफूलाई होच्याउँदै ‘रिपोर्टिङ’ गरेको भन्दै फ्रेन्च कोचले स्पेनिस मिडियालाई गतिलै जवाफ दिएका हुन् । रियलले आज शनिबार ला लिगामा २०औं स्थानको हुएस्कासँग अवे मैदानमा खेल्दै छ । सो खेलअघि पत्रकार सम्मेलनमा सामेल हुनेक्रममा मिडिया र जिदानबीच ठूलै ‘टकराव’को स्थिति देखियो ।

पत्रकारसँग प्रश्नोत्तर चलिरहँदा एक पत्रकारले ‘अब यो सिजन हातबाट गइसकेको देखिन्छ, तपाईं कहिलेसम्म पदमा रहनुुहुन्छ ?’ भनेर सोधेपछि जिदानको पारो तात्यो । त्यसपछि अर्का पत्रकारले जिदान र रियललाई होच्याउँदै ‘यो सिजन रियल मड्रिडले के जित्छ’ भनेर मजाकपूर्ण प्रश्न गरेपछि भने जिदानले रिस थाम्न सकेनन् । र, उनी आगो भएर बोल्न थाले ।

सोक्रममा जिदानले मिडियाले लगातार आफू र आफ्ना खेलाडीलाई लिएर अनावश्यक आलोचना गरेर न्यूनतम् सम्मानको व्यवहार पनि नदेखाएको भन्दै मिडियाप्रति खनिए । ‘म र मेरा खेलाडीप्रति तपाईंहरूको यो स्तरको व्यवहार राम्रो होइन । हामीले के प्राप्त गरेका छौं, त्यसलाई हेरेर पनि थोरै सम्मान गर्न सिक्नुहोस्,’ जिदानले रिसाउँदै भने, ‘गत सिजन हामीले लिग जितेका हौं, १० वर्षअघि होइन । मैले राजीनामा तपाईं (पत्रकार) हरूलाई दिनुपर्ने हो ?’

यो सिजन एथ्लेटिको मड्रिड ला लिगा जित्नतर्फ अघि बढेको र रियल कमजोर अवस्थामा रहेको विषयमा घोचपेचपूर्ण ढंगले प्रश्न गरेपछि जिदानले पत्रकारलाई आफूहरूले जितेको ला लिगाको उपाधि संख्या नै सम्झाएर मुखभरिको जवाफ दिए । पत्रकारले पेल्न थालेपछि जिदानले रियल मड्रिडले १० वर्ष ला लिगा नखेले पनि बार्सिलोना र एथ्लेटिको मड्रिडले आफूहरूले जितेजति उपाधि जित्न नसक्ने बताए ।

‘हामीले यस सिजन लिग नजिते के हुन्छ ? गत सिजन हामीले जित्यौं । हामी ३४ पटकका च्याम्पियन हौं । तपाईंहरू बार्सिलोना वा एथ्लेटिको मड्रिडको कुरा गरिरहनुभएको होला । तपाईंहरू हिसाब गर्नुहोस्– यदि रियल मड्रिड घटुवा भएर तल्लो श्रेणीमा पुगेर १० सिजन ला लिगा खेलेन भने पनि उनीहरूले हामीलाई भेट्न सक्दैनन् । तपाईंहरू न्यूनतम् सम्मान दिएर कुरा गर्नुहोस् ।

रियलले ला लिगाको इतिहासमै सबैभन्दा धेरै ३४ पटक उपाधि जितेको छ । जबकि, बार्सिलोनाले हालसम्म ला लिगा मात्रै २६ पटक जितेको छ । यता, एथ्लेटिको मड्रिडले हालसम्म ला लिगा १० पटक मात्रै जितेको छ । जिदानले प्रशिक्षकका रूपमा रियललाई दुईपटक ला लिगा र च्याम्पियन्स लिगमा ह्याट्रिक उपाधि जिताएका छन् । जिदान रियलको इतिहासकै सर्वाधिक सफल कोच हुन् । त्यत्ति मात्रै हैन, जिदान युरोपियन टप–५ लिगमै सबैभन्दा छोटो अवधिमा सबैभन्दा उपाधि जित्ने रेकर्डधारी कोच पनि हुन् ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १३:१५
Loading...