लम्बिने भो पर्खाइ : फातीको अर्को अप्रेसन गर्ने तयारी

एजेन्सी, माघ २३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका युवा स्टार अन्सु फाती मैदान फर्किने पर्खाइ लम्बिने भएको छ । केही समयअघि घुँडाको अप्रेसन गरेर रिकभरी प्रक्रियामा रहेका युवा खेलाडीको तेस्रो अप्रेसन गर्ने तयारी क्लबले गरेको छ । यस्तो रिपोर्ट स्पेनिस मिडियाले छापेका छन् । फातीको पहिलोपटक गत नोभेम्बर ८ तारिखमा अप्रेसन गरिएको थियो ।

त्यसपछि फाती आराम गरिरहेका थिए । तर, उनको स्वास्थ्य अवस्थामा राम्रो सुधार नभएपछि दुई साताअघि पहिलो अप्रेसनसँगै सम्बन्धित दोस्रो अप्रेसन गरिएको थियो । त्यसबेला बार्सिलोनाले फाती डेढ महिनापछि रिकभर हुन सक्ने अपेक्षा गरेको थियो । तर, अहिले फातीको पहिलोपटक अप्रेसन भएको घुँडामा नयाँ दुखाइ हुन थालेपछि उनको तेस्रो अप्रेसन आवश्यक देखिएको छ ।

‘मार्का’ का अनुसार फातीले शल्यक्रिया गरेको घुँडामा फिटनेसको महसुस गर्नुको साटो नयाँ दुखाइ महसुस गन थालेपछि तेस्रो शल्यक्रिया गर्नुपर्ने भएको हो । हालसम्म बार्सिलोनाले यस विषयमा औपचारिक रूमपा खुलाएको छैन । तर, केही दिनभित्रै फातीको तेस्रो अप्रेसन हुने सम्भावना छ । जारी सिजन फातीले १० खेलबाट गोल गरेका छन् ।

तेस्रो अप्रेसन हुने भएपछि फाती मैदान फर्किने समय लम्बिने भएको छ । अप्रेसनपछि फातीले यो सिजनका सबै खेल गुमाउनेछन् । उनी अर्को सिजनबाट मात्रै मैदान फर्किन सक्नेछन् । फातीको अनुपस्थितिमा अहिले बार्सिलोनाको फ्रन्ट लाइनमा कप्तान लिओनल मेस्सी, उसामान डेम्बेले, एन्टोनी ग्रीजम्यान र मार्टिन ब्रेथवेट रहेका छन् ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार १५:२३
Loading...