मेस्सीलाई लिएर पिएसजीका डि मारियासँग ‘फायर’ भए कोम्यान

एजेन्सी, माघ २२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यान फ्रेन्च क्लब पिएजीका खेलाडी एन्जल डि मारियासँग रिसाएका छन् । डि मारियाले आफ्ना खेलाडी लिओनल मेस्सीको भविष्यसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा धारणा राखेपछि डच म्यानेजर कोम्यानले क्रुद्ध हुँदै डि मारियाले अनुशासनबिपरीत टिप्पणी गरेको बताए । आखिर किन रिसाए त कोम्यान डि मारियासँग ?

दुई दिनअघि डि मारियाले एक अन्तर्वार्तामा कुरा गदै बार्सिलोनाका मेस्सी यो सिजन सकिएर आफूहरूको क्लब पिएसजीमा अनुबन्ध हुन लागिरहेको बताएका थिए । आफूले पारिवारिक तवरबाट जानकारी पाएको भन्दै उनले मेस्सी पिएसजीमा आउन लागेको भन्दै खुसी व्यक्त गरेका थिए । मेस्सी र डि मारिया दुवै अर्जेन्टिनका हुन् । उनीहरू अहिले राष्ट्रिय टोलीमा सँगै खेल्छन् । तर, क्लब फुटबलमा सँगै खेल्न पाएका छैनन् । बरु, डि मारियाले फरक–फरक क्लबबाट मेस्सीको टिमविरुद्ध खेलेका छन् ।

‘मेस्सी पिएसजी आउने सम्भावना निकै बलियो भएर गएको छ । पारिवारिक रूपमा मलाई यो जानकारी छ । तर, आजसम्म उनीसँग मेरो यस विषयमा कुनै संवाद भने भएको छैन,’ डि मारियाले भनेका थिए, ‘पहिलो औपचारिक छलफल अघि बढ्न दिऊँ । कागजी प्रक्रिया सुरु हुन दिऊँ । मलाई लाग्छ, सबै कुरा सही हुँदै गएका छन् ।’

यो सिजनको अन्त्यपछि मेस्सी बार्सिलोना छाडेर फ्री ट्रान्सफरमा पिएसजी जान लागेको चर्चा चलिरहेका बेला डि मारियाले सोही चर्चालाई बल पुग्ने गरी आफ्नो धारणा राखे । तर, त्यस कुराले बार्सिलोनाका प्रशिक्षकलाई भने ठूलै तनाव भएछ । गत राति कोपा डेल रे कपको अन्तिम आठमा ग्रानाडाविरुद्धको खेलपछि मिडियासँग कुरा गर्दै कोम्यानले डि मारियामाथि खुलेरै खनिए ।

‘डि मारियाले भनेको कुरा मैले सञ्चारमाध्यमबाट थाहा पाएँ । उनीजस्ता परिपक्व खेलाडीले किन अर्को क्लबको खेलाडीको भविष्यलाई लिए बोले, मैले बुझेको छैन । यदि उनले यसो भनेकै भए उनले एक खेलाडीको अनुशासन पालना नगरेको ठहर्छ । कुनै एक क्लबको खेलाडीले अर्को क्लबको खेलाडीका बारेमा यस्ता धारणा राख्नु सामान्य होइन,’ कोम्यानले भने ।

कोम्यानले मेस्सी अहिले बार्सिलोनाको खेलाडी भाएकाले क्लबलाई समेत असर पर्ने गरी डि मारियाले धारणा बनाउनु गलत हुने बताए । ‘बार्सिलोनासँग अझ मेस्सीको सम्झौता छ । कुनै एक क्लबको जिम्मेवार खेलाडीले अर्को खेलाडीको पारिवारिक स्रोत दिँदै खेलाडीको सरुवाको विषयमा सूचना चुहाउनु वा धारणा बनाउनु सही होइन । यो त क्लबका लागि पनि राम्रो हुँदैन,’ कोम्यानले भने ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १४:४३
Loading...