‘चोट, ओ मेरो साथी’ : हाजार्ड फेरि घाइते भए

एजेन्सी, माघ २१
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख खेलाडी इडेन हाजार्ड फेरि घाइते भएका छन् । गत समर सिजनमा इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा रियल पुगेका बेल्जियन प्ले मेकर लगातार चोटको सिकार बन्दै आएका छन् । यसपटकको चोटसँगै उनले रियल सरुवा भइकन १०औंपटक चोट बोकेका हुन् । ‘मार्का’ का अनुसार हाजार्ड यसपटक मांशपेसीको चोटबाट पीडित बनेका छन् ।

शनिबार ला लिगामा हुने हुएस्काविरुद्धको खेलका लागि प्रशिक्षण गर्नेक्रममा हाजार्डले चोट बोकेका हुन् । उनी यसअघि आफ्नो घरमा क्याडिजसँग १–२ को हारेको खेलमा ठीकठाक खेलेका थिए । सो खेलपछि प्रशिक्षण दौरान उनी पुनः घाइते भएका हुन् । रिपोर्टअनुसार हाजार्ड यो चोटका कारण एक महिनासम्म मैदानबाहिर हुनेछन् ।

चोटका कारण हाजार्डले शनिबार हुएस्काविरुद्धको खेलसहित ला लिगामा ४ खेल गुमाउनेछन् । उनी फेब्रुअरी २४ मा च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन एटलान्टाविरुद्धको खेलबाट मैदान फर्किने सम्भावना छ । रियल यो सिजन खराब अवस्थाबाट गुज्रिरहेका बेला हाजार्डको चोटले प्रशिक्षक जिदानलाई थप तनाव दिएको छ । हाजार्डले हालसम्म रियल पुगिकन कूल ३५ खेल खेल्दै ४ गोल र ४ असिस्ट मात्रै गरेका छन् ।

जारी सिजन रियल कोपा डेल रे कपको अन्तिम ३२ बाटै आउट भइसकेको छ भने ला लिगामा पनि खराब अवस्थामा छ । रियल अहिले ला लिगामा एक खेल कम खेलेको एथ्लेटिको मड्रिडभन्दा १० अंकले पछि परेको अवस्थामा छ । रियलका लागि अब लिगको उपाधि होडमा फर्किन सजिलो छैन ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार १६:२८
Loading...