कोम्यान भन्छन्– ‘बार्सिलोनाका लागि कोपा डेल रे महत्त्वपूर्ण छैन’

एजेन्सी, माघ २०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफूहरूका लागि कोपा डेल रे कपको उपाधि महत्त्वपूर्ण नरहेको बताएका छन् । प्रतियोगिताको क्वार्टरफाइनलमा ग्रानाडासँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै डच म्यानेजरले यस्तो बताएका हुन् । कोम्यानले आफूहरूको ध्यान ला लिगा र च्याम्पियन्स लिगमा रहेकाले कप हारे पनि वा जिते पनि खास फरक नपर्ने बताएका छन् ।

यसपटक बार्सिलोना कोपाको अन्तिम आठमा प्रवेश गरेको छ । र, उसले भोलि ग्रानाडासँग सेमिफाइनल प्रवेशका लागि खेल्दै छ । प्रतियोगिताका अन्य दुई बलिया टोलीहरू रियल मड्रिड र एथ्लेटिको मड्रिड यसअघि नै आउट भइसकेका छन् । हालको अवस्थामा बार्सिलोना र सेभिल्लालाई प्रतियोगिताका लागि प्रमुख दाबेदार मानिएको छ । तर, कोम्यान भने कोपाको उपाधिका लागि आफूहरू धेरै चिन्तित नरहेको बताएका छन् ।

‘बार्सिलोनाका लागि कोपा डेल रे कपको उपाधि धेरै महत्त्वपूर्ण छैन । उपाधि जित्न अब थोरै मात्रै खेल बाँकी छन् । यी सबै खेल हाम्रै हातमा छन् । तर, हाम्रो ध्यान अहिले ला लिगा र च्याम्पियन्स लिगमा केन्द्रित छ,’ कोम्यानले भनेका छन्, ‘कोपा जिते राम्रो, नजिते पनि ठूलो असर पर्दैन । किनभने, हामीले जित्नुपर्ने ठूला प्रतियोगिता हो । हामीले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।’

तर, बार्सिलोनाले कोपा जित्न प्रयास गर्ने कोम्यानले बताए । ‘तर, यसको अर्थ हामी कोपा जित्न चाहँदैनौं भन्ने होइन । हामी यो पनि जित्न चाहन्छौं । र, ठूला उपाधि पनि जित्न चाहन्छौं,’ कोम्यानले थपे ।

प्रकाशित मिति २० माघ २०७७, मंगलवार १५:५४
Loading...