बोलोग्नालाई एसी मिलानले हरायो : ज्लाटनले मिस गरे पेनाल्टी

काठमाडौं, माघ १७
इटालियन सिरी ए लिग फुटबलमा लिग लिडर एसी मिलानले १४औं जित निकालेको छ । आज शनिबार भएको लिगको २०औं साताको खेलमा मिलानले बोलोग्नालाई उसकै घरेलु मैदानमा १–२ ले स्तब्ध बनायो । अवे मैदानमा पहुना टोलीले कठिन जित निकाल्दा टोलीका प्रमुख खेलाडी ज्लाटन इब्राहिमोभिचले भने पेनाल्टी मिस गरे । तैपनि, टिमले महत्त्वपूर्ण जित निकाल्दै ३ अंक जोड्न सफल भयो ।

पाहुना टोली मिलानका लागि खेलको २६औं मिनेटमा एन्टे रेबिचले गोल गरेका थिए । ज्लाटनले पेनाल्टी मिस गर्दा रिबाउन्ड बलमा रेबिचले गोल गरेका थिए । रेफ्रीले भिएआरमार्फत् एसी मिलानलाई पेनाल्टी दिएका थिए । तर, ज्लाटनले हानेको पेनाल्टी प्रहार बोलोग्नाका गोलकिपरले रोकेर बललाई पन्च गरे । तर, नजिकै पुगेका रेबिचले रिबाउन्ड बलमा सहजै गोल गरेर टिमलाई अग्रता दिलाए ।

त्यसपछि एसी मिलानले दोस्रो खेल खेलको ५५औं मिनेटमा हान्यो । यसपटक मिलानले पेनाल्टीमार्फत् नै गोल हान्यो । तर, पहिलो पेनाल्टी मिस गरेका ज्लाटनले यसपटक पेनाल्टी प्रहार गरेनन् । यसपटक फ्रान्क केसेईले पेनाल्टी प्रहार गर्दै गोल पनि गर्न सफल भए । त्यसपछि ढिला गरी ८१औं मिनेटमा बोलोग्नाका लागि आन्ड्रेया पोलीले गोल गरेपछि मिलानको जित १–२ मा खुम्चियो । अब यो जितपछि मिलानले २० खेलबाट कूल ४६ अंक जोडेको छ । पराजित बोलोग्नाको खातामा २० अंक छ ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार १५:०८
Loading...