लिजेन्ड रिभाल्डो भन्छन्– ‘मेस्सीलाई नबेच्नु बार्सिलोनाको ठूलो गल्ती’

एजेन्सी, माघ १६
ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले यो बताएका छन् कि, बार्सिलोनाले कप्तान लिओनल मेस्सीलाई समयमै नबेच्नु ठूलो गल्ती भयो । बार्सिलोनाका ठूला शुभचिन्तक तथा लिजेन्ड खेलाडीसमेत रहेका उनले बार्सिलोना अहिले मेस्सीलाई केही वर्षअघि नै नबेच्नुको पश्चतापमा रहेको बताएका छन् । जारी सिजनको अन्त्यसँगै क्लबसँग मेस्सीको सम्झौता सकिँदैछ । र, मेस्सीले फ्री ट्रान्सफरमा क्लब छाडेर चाहेको क्लबमा निःशुल्क जान पाउनेछन् ।

क्लबको इतिहासमै सर्वाधिक सफल र महान् खेलाडी कहलिएका मेस्सी ३४ वर्षको उमेरमा निःशुल्क क्लब छाडन् लाग्दा बार्सिलोना भने खुसी छैन । बार्सिलोना अझै पनि मेस्सीलाई सकेसम्म क्लबमै राख्न चाहन्छ । तर, मेस्सीको मनस्थिति बार्सिलोनामा रहने वा नयाँ सम्झौता गर्ने देखिँदैन । यसको अर्थ मेस्सीजस्ता एक जादुयी खेलाडीलाई बार्सिलोनाले अब फ्री ट्रान्सफरमा बिदा गर्न बाध्य हुनुपर्नेछ । यसबाट बार्सिलोनालाई ब्रान्ड भ्यालुको क्षति मात्रै पुग्दैन, सोझो आर्थिक क्षति पनि सँगै हुन्छ ।

यसै प्रसंगमा लिजेन्ड रिभाल्डोले मेस्सीको सम्झौता चलायमान छँदा नै उनलाई राम्रो मूल्यमा नबेच्नु बार्सिलोनाको भुल भएको बताएका छन् । मेस्सीको सम्झौता बाँकी छँदै बेचेको भए क्लबले मोटो रकम प्राप्त गर्ने र आज फ्री ट्रान्सफमा छाड्नुपर्ने स्थिति नआउने रिभाल्डोले धारणा राखेका छन् । रिभाल्डोले भनेका छन्, ‘मेस्सीको सम्झौता बाँकी छँदा नै उनलाई नबेच्नु बार्सिलोनाको अघिल्लो बोर्डको भुल थियो । आज क्लब मेस्सीजस्ता खेलाडीलाई निःशुल्क अर्को क्लबमा जान दिन बाध्य हुँदैछ । यो त बार्सिलोनाका लागि ब्रान्ड मूल्य र आर्थिक दुवै हिसाबले ठूलो नोक्सानी हो ।’

रिभाल्डोले बताएका छन् कि, बार्सिलोनाले मेस्सीलाई करिअरभरि क्लबै राख्न सक्नुपर्ने थियो । यदि यो नहुने स्थितिमा उनको सम्झौता बाँकी छँदै उच्च मूल्यमा बेचेर फाइदा लिनुपर्ने थियो । रिभाल्डोले भनेका छन्, ‘बार्सिलोनाले मेस्सीलाई करिअरभरि क्लबमै राख्न सक्नुपर्थ्यो । यदि यो नहुने सिथतिमा सम्झौता बाँकी छँदै राम्रो मूल्यमा बेच्नुपर्ने थियो । बार्सिलोनाले त्यही गर्न सक्थ्यो, जस्तो रियल मड्रिडले क्रिस्टियानो रोनाल्डोको विषयमा गर्यो । उनीहरूले ३३ वर्षका रोनाल्डोलाई सही समयमा ११६ मिलियन युरोमा बेचेर राम्रो आर्थिक आर्जन गरे ।’

रिभाल्डोले मेस्सीजस्ता खेलाडी निःशुल्क कुनै क्लबमा जानु सामान्य नरहेको धारणा राखे । ‘मेस्सीजस्ता खेलाडी सरुवा बजारमा फ्रीमा उपलब्ध हुँदैछन्, यो एकदमै अस्वभाविक छ । कुनै क्लबले निःशुल्क पाउने खेलाडी होइनन् उनी । यदि यस्तै भयो भने यो फुटबल इतिहासको ठूलो आश्चार्य हुनेछ,’ रिभाल्डोले थपे ।

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार १६:१७
Loading...