मेस्सीको आलोचना गर्नेलाई कोम्यानको जवाफ– ‘मेस्सी भनेका मेस्सी नै हुन्’

एजेन्सी, माघ १३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीका कप्तान लिओनल मेस्सीको बचाउ गरेका छन् । कोपा डेल रे कपको अन्तिम १६ मा रायो भालेकानोविरुद्धको खेलअघि मिडियासँग कुरा गर्दै कोम्यानले मेस्सीको बचाउमा आफू हरेक तरहले उभिने बताए ।

अघिल्लो साता सुपर कपको फाइनल खेल दौरान रातो कार्ड पाएपछि दुई खेलको प्रतिबन्ध पार गरेर मेस्सी भालेकानोविद्धको खेलबाट मैदान फर्किने तयारीमा छन् । सो खेलका लागि सार्वजनिक बार्सिलोनाको प्रारिम्भक टोलीमा मेस्सीलाई पनि समेटिएको छ ।

‘मेस्सीको रातो कार्ड एक दुर्घटना थियो । मेलै त्यसलाई ठूलो विषय मानेको छैन । उनी अब प्रतिबन्धमुक्त भएका छन् । उनी भोलि (रायो भालेकानो) को खेलबाट हामीसँग हुनेछन्,’ कोम्यानले भने, ‘म मेरा खेलाडीको पक्षमा प्रतिबद्ध छु । मेस्सी मात्रै हैन, म आफ्ना सबै खेलाडीको पक्षमा उभिन्छु ।’

मेस्सीको कमजोर प्रदर्शनलाई लिएर भइरहेको आलोचनाको पनि कोम्यानले खण्डन गरेका छन् । ‘मलाई त्यस्तो लागेको छैन । उनले धेरै गोल र असिस्ट नगरे पनि उनले टिमलाई सघाइरहेका छन् । उनी टोलीका सर्वाधिक गोलकर्ता हुन् । प्रतिबन्धपछि उनी लगातार प्रशिक्षणमा छन् । उनी अहिले फिट छन् । सम्भवतः भोलि उनी हामीसँग हुनेछन् ।’

प्रकाशित मिति १३ माघ २०७७, मंगलवार १५:४७
Loading...