अर्जेन्टिनी खेलाडीद्वारा मेस्सीको आलोचना– ‘मेस्सी नखेलेका सबै खेल बार्सिलोनाले जित्छ’

एजेन्सी, माघ १३
स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका प्रमुख फरवार्ड लिओनल मेस्सी नखेलेका सबै खेल बार्सिलोनाले जित्छ, यस्तो दाबी अर्जेन्टिनाकै पूर्वगोलकिपर ह्युगो ओर्लान्ड गाट्टीले गरेका छन् । उनले मेस्सीको आलोचना गर्दै मेस्सी नखेलेका सबै खेल बार्सिलोनाले जित्ने दाबी गरेका छन् ।

राष्ट्रिय टोलीका पूर्वगोलकिपरसमेत रहेका ७६ वर्षीय गाट्टीले मेस्सीबिना बार्सिलोना एक टोलीका रूपमा आत्मनिर्भर हुने बताएका छन् । मेस्सी रहँदा मेस्सीकै कारण अन्य खेलाडीको भूमिका र योगदान खुम्चिने उनले बताएका छन् । गाट्टीले आफ्नै देशका एक महान् र सर्वाधिक सफल खेलाडीको कडा आलोचना गरेका हुन् ।

बार्सिलोनाले पछिल्लोपटक ला लिगामा इल्चेमाथि २–० को जित निकालेपछि गाट्टीले एक अन्तर्वार्तामा बोल्दै यस्तो बताएका हुन् । बार्सिलोनालाई सो खेलमा जिताउन फ्रेन्की डे जोङ र रिक पुजले १–१ गोल गरेका थिए । सो खेलमा मेस्सी प्रतिबन्धका कारण खेलेका थिएनन् । मेस्सी आगामी खेलबाट टोलीमा फर्किंदैछन् ।

मेस्सीको कडा आलोचना गर्दै गाट्टीले भनेका छन्– ‘मेस्सी नखेलेका खेल बार्सिलोनाले सधैं जित्छ । बलिया प्रतिस्पर्धीहरूसँग पनि मेस्सीबिनाको टिमले बराबरी गर्न सक्छ । फुटबल भनेको जितको विषयमा हुन्छ । र, यदि तपाईं राम्रो खेल्नुहुन्छ भने राम्रो हुन्छ । तपाईं आफैं विगत र तथ्यांक हेर्नुहोस्– एकाध दुर्घटनाबाहेक सबै समय मेस्सी नहुँदा बार्सिलोना विजयी भएको छ । र, विजयी हुन्छ पनि ।’

गाट्टीले मेस्सीमाथि आफूले निराधार आलोचना मात्रै नगरेको पनि प्रष्ट पारेका छन् । ‘मैले आलोचनाका लागि आलोचना मात्रै गरेको होइन । यो तथ्यगत छ । म मेस्सीसहितको भन्दा मेस्सीबिनाको बार्सिलोना बलियो देख्छु,’ गाट्टीले भने ।

प्रकाशित मिति १३ माघ २०७७, मंगलवार ०४:४१
Loading...