‘अब बार्सिलोनाको लक्ष्य ला लिगा र च्याम्पियन्स लिगको उपाधि’

एजेन्सी, माघ १२
स्पेनिस फुटबल क्लब बार्सिलोनाले जारी सिजन घरेलु लिग ला लिगा र युरोपियन च्याम्पियन्स लि जित्न ध्यान केन्द्रित गर्नुपर्ने टोलीका प्रमुख गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले बताएका छन् । ‘मार्का’ सँग कुरा गर्दै जर्मन गोलकिपरले आफूहरूका लागि अझै पनि ठूला उपाधि जित्ने समय रहेको बताएका छन् । सुपर कपको फाइनल हारले बार्सिलोनाको सिजनलाई खराब नबनाउने टर स्टेगेनको भनाइ छ ।

‘सुपर कपको फाइनल हार्नु हाम्रा लागि राम्रो नतिजा थिएन । तर, हामी त्यो हार भुलेर अघि बढ्नेक्रममा छौं । अहिले हामी शान्त छौं,’ टर स्टेगेनले भनेका छन्, ‘यो हामी एकताबद्ध र आत्मविश्वासी बनेर अघि बढ्ने समय हो । हामीले सुपर कपको हारमा अल्झिनु आवश्यक छैन । सुपर कप जित्दा राम्रो हुन्थ्यो, नजिते पनि ठूलो क्षति मैले मानेको छैन ।’

टर स्टेगेनले ला लिगामा पछिल्लो समय टिमले सुधार गर्दै लगेको भन्दै खुसी व्यक्त गरे । ‘कुनै बेला हामी रेलिगेसन नजिक थियौं । तर, अहिले हामी शीर्ष तीनमा छौं । मलाई लाग्छ, टिम सही दिशामा छ । हामी राम्रो गर्दै गइरहेका छौं,’ उनले थपे, ‘हामीले अझै सुधार गर्दै जानुपर्छ र हरेक खेल जित्नुपर्छ ।’

टर स्टेगेनले बार्सिलोनाले अब आफ्नो ध्यान पूर्ण रूपमा ठूला प्रतियोगितामा लगाउनुपर्ने पनि बताएका छन् । ‘बार्सिलोनाका लागि अझै तीन प्रमुख प्रतियोगिता खुला छन् । तर, हामीले अब सम्पूर्ण ध्यान ला लिगा र च्याम्पियन्स लिगमा ध्यान केन्द्रित गर्नुपर्छ,’ टर स्टेगेनले भने, ‘बार्सिलोना अहिले पनि आफ्नो स्तरमा छ र ठूला उपाधि जित्न सक्षम भनेर साबित गर्न हामीले यो सिजन ठूला उपाधि जित्नुपर्छ । त्यसका लागि हामी सबैले आ–आफ्नो भूमिकाबाट १०० प्रतिशत योगदान दिनुपर्छ ।’

टर स्टेगेनले आफू बार्सिलोनामा खुसी रहेको पनि बताएका छन् । ‘यसमा कुनै शंका छैन, म यहाँ एकदमै खुसी छु । विश्वकै एक ठूलो क्लबका लागि गोल पोस्टको मुख्य जिम्मेवारी सम्हाल्न पाउनु मेरा लागि धेरै ठूलो कुरा हो । मैले हरेक खेलमा र हरेक मिनेट टिमका लागि राम्रो गर्न प्रयास गरिरहेको छु,’ टर स्टेगेनले भने, ‘म यस टिमका लागि खेल र उपाधि जित्न चाहन्छु । टिमलाई च्याम्पियन बन्न सघाउन चाहन्छु ।’

प्रकाशित मिति १२ माघ २०७७, सोमबार १३:४३
Loading...