बार्यनद्वारा शाल्केको पोस्टमा गोलको वर्षा : बनायो ७ अंकको अग्रता

काठमाडौं, माघ ११
जर्मन लिग बुन्डेसलिगा फुटबलमा लिग लिडर बर्यान म्युनिखले प्रभावशाली जित निकालेको छ । आइतबार राति भएको लिगको १८औं साताको खेलमा बार्यनले पुछारको शाल्केलाई उसकै घरेलु मैदानमा ०–४ गोलअन्तरको हार खुवायो । बार्यनका लागि यो सिजनको १३औं जित हो ।

बार्यनको जितमा पहिलो गोल खेलको ३३औं मिनेटमा थोमस मुलेर जोसुवा किमिचको पासमा गरेका थिए । त्यसपछि दोस्रो गोल ५४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गरे । यो सिजन लिगमा उनका लागि यो २३औं गोल हो । लेवान्डोस्ककिा लागि यो करिअरको ५००औं गोल पनि थियो । लेवान्डोस्कीको गोलमा पनि किमिचले नै असिस्ट गरेका थिए ।

त्यसपछि बार्यनले २ गोल अन्तिम समयमा हान्यो । ८८औं मिनेटमा किमिचकै पासमा मुलरले गोल गरे भने ९०औं मिनेटमा किङ्स्ले कोमानको पासमा डेभिड अलबाले गोल गरेपछि खेल बार्यनले ०–४ ले जित्यो । आजको खेलमा युवा खेलाडी किमिचले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक असिस्ट गर्न सफल भए ।

अब यो जितपछि बार्यनले १८ खेलपछि ४२ अंक जोडेर शीर्ष स्थानमा पकड बलियो बनाएको छ । उसले दोस्रो स्थानको आरबी लेइपजिगलाई स्पष्ट ७ अंकले पछि पारेको छ । पराजित शाल्के अहिले मात्रै ७ अंक बनाएर सबैभन्दा पुछार १८औं स्थानमा रहेको छ ।

प्रकाशित मिति ११ माघ २०७७, आईतवार १६:३१
Loading...