बार्सिलोनाका खेलाडीलाई ‘पेनाल्टी हान्ने कला सिकाउन’ छुट्टै ट्रेनिङ !

एजेन्सी, माघ १०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना खेलाडी पेनाल्टी प्रहारमा लगातार असफल हुन थालेपछि पेनाल्टी हान्ने विशेष ट्रेनिङ आवश्यक देखिएको बताएका छन् । आइतबार ला लिगामा इल्चेविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै डच म्यानेजरले टोलीमा पेनाल्टी असफलताले चिन्ता बढाएको स्वीकारेका छन् ।

दुई दिनअघि कोपा डेल रे फुटबलको अन्तिम ३२ मा बार्सिलोनाका २ जना खेलाडीले पेनाल्टी मिस गरेका थिए । तेस्रो डिभिजनको टिम कोर्नेल्लाविरुद्ध एकै खेलमा २ जना खेलाडीले ९० मिनेटभित्र पेनाल्टी गुमाएपछि कोम्यानले खेलपछि खेलाडीप्रति चर्को असन्तुष्टि जनाएका थिए । सो खेलअघि सुपर कपको सेमिफाइनलमा रियल सोसिडाडविरुद्ध पेनाल्टी सुटआउटमा पनि बार्सिलोनाका २ जना खेलाडीले पेनाल्टी मिस गरेका थिए । त्यसअघि कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रीज्म्यानले पनि यसै सिजनमा पेनाल्टी मिस गरिसकेका छन् ।

सोसिडाडविरुद्ध पेनाल्टी सुटआउटमा दुवै खेलाडीले अफ् टार्गेट हानेका थिए भने अघिल्लो दिन कोर्नेल्लाविरुद्ध मिरालेम पियानिच र उसामान डेम्बेले दुवैको प्रहार गोलपिकरले रोकेका थिए । एकै खेलमा २ जनाले पेनाल्टी मिस गरेपछि बार्सिलोनाले कोर्नेल्लाविरुद्ध २–० को जित निकाल्दा ९० मिनेटपछि ३० मिनेटको थप समयसम्म खेल्नु परेको थियो ।

शनिबार पत्रकार सम्मेलनमा सहभागी हुनेक्रममा पत्रकारले टिममा पेनाल्टी प्रहार असफलतालाई लिएर प्रश्न गरेपछि कोम्यानले चिन्ता व्यक्त गरे । ‘मैले अस्ति पनि भनें, बार्सिलोनामा रहेर एकै खेलमा दुई पेनाल्टी मिस गर्नु गम्भीर कुरा हो । यसबाट खेलाडी कामप्रति गम्भीर छैनन् भन्ने देखिन्छ,’ कोम्यानले भने, ‘खेलाडीमा आत्मविश्वासको कमी छ । हाम्रा खेलाडीलाई यस्तो सुहाउँदैन ।’

कोम्यानले खेलाडीलाई पेनाल्टी प्रहारमा आत्मविश्वास बढाउन बेग्लै प्रशिक्षण आवश्यक देखिएको बताए । ‘मैले भनें नि, लगातार पेनाल्टी असफल हुनु राम्रो होइन, यो चिन्ताजनक हो । खेलाडीलाई पेनाल्टीमा आत्मविश्वासी बनानउ छुट्टै अभ्यास र प्रशिक्षण आवश्यक देखिएको छ । यस कुराले मलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘तत्कालका लागि हामीले ट्रेनिङ सेन्टरमा यसको अभ्यास बढाउनुपर्छ । र, खेलको अवस्थाअनुसार मैदानमा पालो–पालो पेनाल्टी प्रहार गर्नुपर्छ । यसले सबैमा आत्मविश्वास बढाउँछ ।’

प्रकाशित मिति १० माघ २०७७, शनिबार १५:२२
Loading...