मेस्सीलाई अझै एक खेलमा प्रतिबन्ध

एजेन्सी, माघ १०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीमाथि लागेको दुई खेलको प्रतिबन्ध यथावत रहने भएको छ । बार्सिलोनाले मेस्सीमाथि लागेको दुई खेलको प्रतिबन्ध फुकुवाका लागि स्पेनिस फुटबल संघ समक्ष दुई अपिल दर्ता गरेको थियो । तर, बार्सिलोनाको अपिलमा संघले छलफल नगरी सोझै खारेज गरिदिएको छ ।

गत आइतबार स्पेनिस सुपर कपको फाइनल खेल दौरान मेस्सीले रातो कार्ड पाएका थिए । उनले बिल्बाओका खेलाडीमाथि हातपात गरेपछि खेलको अन्त्यतिर रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए । उनको खराब व्यवहारमाथि कारबाही गर्दै संघले दुई खेलमा प्रतिबन्ध लगाएको थियो । सो कारबाही फुकुवा गर्न माग गर्दै बार्सिलोनाले सोही दिन अपिल दर्ता गरेको थियो ।

तर, संघले बार्सिलोनाको सो अपिल नै खारेज गरेर मेस्सीमाथि लागेको दुई खेलको प्रतिबन्धलाई थाँती राखेको छ । जसअनुसार मेस्सीले अझै एक खेल गुमाउने भएका छन् । उनले अघिल्लो दिन कोपा डेल रे कपमा कोर्नेल्लाविरुद्धको खेल गुमाइसकेका छन् । अब उनले ला लिगामा भोलि हुने इल्चेविरुद्धको खेल पनि गुमाउनेछन् । मेस्सी त्यसपछि कोपाको अन्तिम १६ मा रायो भालेकानोविरुद्ध हुने खेलबाट मैदान फर्किन खुला हुनेछन् ।

प्रकाशित मिति १० माघ २०७७, शनिबार ०६:३६
Loading...