राजेश हमाल चार वर्षपछि ‘सत्यम्’ फिल्मबाट कमब्याक गर्दै

काठमाडौं, माघ २२
महानायकको दर्जा पाएका अभिनेता राजेश हमाल चार वर्षपछि फिल्मी पर्दामा फर्किने भएका छन् । पछिल्लो समय फिल्मभन्दा बाहिर विभिन्न काममा व्यस्त रहँदै आएका उनले नयाँ फिल्म काम नगरेको चार वर्ष भइसकेको छ । कुनैबेला हमालको टाउको पोस्टरमा राख्दा मात्र पनि कुनै समयमा फिल्मले हलसम्म दर्शक तान्थे । उनलाई महँगो पारिश्रमिक दिएर छोटो भूमिकामा काम गराउन निर्माता मरिहत्ते गर्थे ।

हमालको जस्तो भूमिकामा पनि फिट हुने स्वभाव र चरित्रले गर्दा पनि उनी सबैका रोजाइमा पर्थे । सबैसँग काम गर्ने र जस्तो भूमिकामा पनि भिजेर काम गर्ने चरित्रले नै हमाललाई आज पनि दर्शकले मन–मनमा राखेका छन् । हमाल फरक–फरक विषय र सन्दर्भमा दर्शकमाझ आज पनि छाइरहेकै छन् । पर्दामा उनको क्रेज कम भए पनि बाहिर उनको क्रेजमा कुनै कमी आएको छैन । पछिल्लो समय हमाल लगातार नयाँ–नयाँ म्युजिक भिडियोमा काम गर्दै आएका छन् ।

हमालले पछिल्लोपटक ‘बागमती’ र ‘शकुन्तला’ फिल्म खेलेका थिए । तर, यी दुवै फिल्म फ्लप भए । ‘शकुन्तला’मा उनलाई तेश्रो लिङ्गीको भूमिकामा प्रस्तुत गएिए पनि उनलाई दर्शकले रुचाएनन् । त्यसपछि त हमालले फिल्म नै साइन गरेनन् । वा, उनलाई अफर भएन । जे होस्, चार वर्षदेखि हमाललाई दर्शकले फिल्मी पर्दामा देख्न पाएका छैनन् ।

हमाल आफैंले बोलेका कुराअनुसार पछिल्लो चार वर्षमा उनले करिब साढे २ दर्जन बढी स्क्रिप्ट पढे । तर, कुनै पनि कथा उनले मन पराएनन् । बजारमा त उनी आफैंले फिल्म निर्माण र निर्देशन गर्ने चर्चा पनि चल्यो । यो कुरा त उनी आफैंले पनि पटक–पटक बताउँदै आएका छन् । पछिल्लो समय हमालले आफू ‘फरक भूमिकामा आउने’ बताउँदै आए ।

साढे दुई दर्जन स्क्रिप्ट पढे, ‘सत्यम्’ बाट कमब्याक गर्दै

स्रोतका अनुसार चार वर्षपछि हमालले चलचित्र ‘सत्यम्’मा काम गर्ने तयारी गरेका छन् । यो फिल्मको कथा मन परेपछि उनले ठूलो पर्दामा फर्किन लागेका हुन् । हमालले लामो समयपछि काम गर्न लागेको फिल्ममा उनलाई नै मुख्य भूमिकामा देखिने बताइएको छ । सो फिल्मको कथामा देशले नचिनेको एक हिरोको कथालाई विषय बनाइएको छ । र, त्यो हिरोको भूमिकामा हमाल हुनेछन् ।

केही समयअघि दीपाश्री निरौलाले हमालप्रति गरेको विवादस्पद कमेन्टपछि फ्यानहरू हमालको पक्षमा उभिएका थिए । लामो समय फिल्म नखेले पनि फ्यानहरूले हमाललाई दीपाश्री प्रकरणमा एकधुर लागेर साथ दिएका थिए । फ्यानहरू माझ हमालको क्रेज कति छ भनेर दीपाश्री प्रकणलाई हेरे पनि पुग्छ ।

पछिल्लो समय हमालले लगातार म्युजिक भिडियोमा काम गर्दे आइरहेका छन् । कतिपयले त उनले जथाभावी म्युजिक भिडियो खेलेको भनेर आलोचना पनि गरिरहेका छन् । यसैबेला उनले नयाँ फिल्मबाट पुनरागमन गर्न लागेको खबरले हमालका फ्यानहरूलाई अवश्य पनि खुसी दिलाउनेछ । तर, सो फिल्मको घोषणा र छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने विषय भने तय भइसकेको छैन ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ०९:५७
Loading...