कोपा डेल रे अन्तिम ३२ : यस्तो हुनेछ कोर्नेल्लाविरुद्ध बार्सिलोनाको प्लेइङ ११

काठमाडौं, माघ ८
स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ मा आज राति बार्सिलोनाले आफ्नो खेल खेल्दै छ । ला लिगा टोली बार्सिलोनाले स्पेनको तेस्रो डिभिजनको टिम कोर्नेल्लाको सामना गर्दै छ । यो खेल नेपाली समअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

बार्सिलोनाले अन्तिम १६ मा जान कोर्नेल्लाको सामना गर्दै दबाबमा हुनेछ । केही दिनअघि मात्रै सुपर कपको फाइनलमा पराजित भएको बार्सिलोनालाई आज तेस्रो डिभिजनको टिमले कडा टक्कर दिनेछ । किनभने, यो त्यही टिम हो, जसले एथ्लेटिको मड्रिडलाई अन्तिम ३२ अघि नै हराएर आउट गराएको थियो ।

गत राति रियल मड्रिड पनि तेस्रो डिभिजनको टिमसँग पराजित भएर प्रतियोगिताबाट आउट भइसकेकाले अन्तिम अवस्थासम्म पनि बार्सिलोना कोपाको उपाधि होडमा रहिररहन चाहन्छ । तर, टोलीका केही प्रमुख खेलाडीबिनाको बार्सिलोनालाई अन्तिम ३२ बाट अघि बढ्नै सजिलो देखिँदैन ।

आज राति अवे मैदानमा उत्रिँदा बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सी प्रतिबन्धका कारण हुनेछैनन् । प्रशिक्षक कोम्यानले तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध उत्रिँदा दोस्रो रोजाइका खेलाडीसहितको मिश्रित टोली बनाउने छन् । गोल पोस्टमा आज नेटोले स्थान पाउनेछन् भने रक्षापंक्तिमा पनि युवा खेलाडीले समय पाउनेछन् । मिडफिल्ड र फ्रन्ट लाइनमा मिश्रित सेट हुनेछ ।

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार १४:०५
Loading...