रोनाल्डोलाई उपाधिसँगै उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं, माघ ८
गत राति इटालियन सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा युभेन्टसले नापोलीलाई हराएर उपाधि जित्यो । सिजनको पहिलो फाइनल खेलमा युभेन्टसले नापोलीलाई २–० ले हराएर उपाधि पोल्टामा पार्न सफल भयो । युभेन्टसले नवौंपटक सुपर कपको उपाधि जतेको हो ।

सिजनको पहिलो फाइनल खेलमा युभेन्टसलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डोको भूमिका महत्त्वपूर्ण रह्यो । उनकै प्रेरणादायी प्रदर्शनको मदतमा युभेन्टसले उपाधि जित्यो । रोनाल्डोले खेलको ६४औं मिनेटमा बक्स भित्रबाट टिमका लागि सुरुआती गोल गरेका थिए । सो गोलपछि नै युभेन्टस जितको बाटोमा अघि बढेको थियो ।

पछि खेलको इन्जुरी समयको पाँचौं मिनेटमा अल्भारो मोराटाले दोस्रो गोल थपेपछि खेल युभेन्टसले २–० ले जित्यो । फाइनल खेलमा महत्त्वपूर्ण प्रदर्शन गरेका रोनाल्डोले फाइनल खेलको ‘म्यान अफ् द म्याच अवार्ड’ जिते । टिमलाई उपाधि जिताउन टर्निङ प्वाइन्ट दिलाउने गोलकर्ता रोनाल्डोले टिमसँग उपाधि र व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडीको अवार्ड पनि जित्न सफल भए ।

म्यान अफ् द म्याच अवार्ड जितेपछि रोनाल्डोले भने, ‘हामी च्याम्पियन बन्यौं, जुन हामी चाहन्थ्यौं । यो नै ठूलो कुरा हो । सिजनको पहिलो उपाधि जित्दा हामी खुसी छौं । आज टिमका लागि महत्त्वपूर्ण गोल गरेर सघाउन पाउँदा म व्यक्तिगत रूपमा खुसी छु ।’

गत राति गरेको रोनाल्डोको गोल करिअरको ७६०औं गोल थियो । सो गोलसँगै रोनाल्डो फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । यता, जारी सिजन रोनाल्डोले सबैखाले प्रतियोगिताबाट कूल २० गोलको आँकडा पनि पूरा गरेका छन् ।

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार ०६:०४
Loading...