काठमाडौं, माघ ८
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गत राति भएको लिगको १९औं साताको खेलमा रेलिगेसन जोनको फुलहामलाई उसकै घरेलु मैदानमा १–२ ले हराउँदै युनाइटेडले उपाधि होडमा लिड कायमै राखेको छ ।
गत राति युनाइटेडको खेलअघि म्यानचेस्टर सिटी शर्ष स्थानमा चढेको थियो । सिटी यो सिजन पहिलोपटक शीर्ष स्थानमा चढे पनि उसको अग्रता दुई घन्टाभन्दा बढी टिकेन । युनाइटेडले आफ्नो खेल जित्दै पुनः शीर्ष स्थानमा फर्किंदा सिटी दोस्रोमै झरेको छ ।
फुलहामको घरमा युनाइटेड खेलको पाँचौं मिनेटमा गोल खाएर पछि परेको थियो । घरेलु टोलीका लागि एडेमोला लोकमानले गोल गरेका थिए । तर, युनाइटेडले त्यसपछि २ गोल गरेर खेल जित्यो । २१औं मिनेटमा इडिन्सन काभानीले गोल गरेर खेल १–१ को बराबरी बनाए ।
युनाइटेडले विजयी गोल दोस्रो हाफमा हान्यो । यसपटक खेलको ६५औं मिनेटमा पाउल पोग्बाले सुन्दर गोल गरे । युनाइटेडले सोही गोलको मदतमा अग्रता बचाएर खेल १–२ ले जित्यो । अब यो जितपछि युनाइटेडले १९ खेलबाट ४० अंक जोडेर लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३८ अंकसहित दोस्रो स्थानमा छ ।
प्रकाशित मिति ८ माघ २०७७, बिहीबार ०३:४५