ला लिगा लिडर एथ्लेटिको मड्रिडलाई कोम्यानको चेतावनी

एजेन्सी, माघ ७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले ला लिगाको शीर्ष स्थानको एथ्लेटिको मड्रिड धेरै समय शीर्ष स्थानमा रहन नसक्ने दाबी गरेका छन् । कोपा डेल रे फुटबलको अन्तिम ३२ को पहिलो खेल खेल्नुअघि मिडियासँग कुरा गर्दै कोम्यानले बार्सिलोना अन्तिम समयसम्मै लिगको उपाधि होडमा रहने जिकिर गरेका छन् ।

पत्रकारका पेचिला र घोचिला प्रश्नको सामना गरेका कोम्यानले एथ्लेटिकोले सधैं जित्न नसक्ने भन्दै चेतावनीमूलक भाषामा जवाफ दिएका छन् । ‘अहिले उनीहरू हामीभन्दा केही अघि छन् । तर, उनीहरू शीर्ष स्थानमा धेरै समय रहनेछैनन् । उनीहरूले पनि कठिन खेलहरू खेल्नुपर्ने छ,’ कोम्यानले भने, ‘उनीहरूले सधैं जितिराख्न सक्दैनन् । बाँकी खेलमा उनीहरू पनि समस्यामा पर्नेछन् । उनीहरूले अझै हाम्रो पनि सामना गर्नुपर्ने छ । ’

स्वारेजको बिदाइबारे सोधिएको प्रश्नमा कोम्यानले झर्को मान्दै जवाफ दिए । ‘मैले थुप्रैपटक भनिसकें, स्वारेजको बिदाइबाट मलाई कुनै पछुतो छैन । उनी अब हाम्रा खेलाडी हैनन् । उनले एथ्लेटिकोमा अझै राम्रो गरुन्, उनलाई मेरो शुभकामना छ,’ कोम्यानले भने ।

बार्सिलोनाले सुपर कप हारे पनि बाँकी प्रतियोगितामा उपाधिमा बलियो दाबेदारी दिने कोम्यानले बताएका छन् । ‘सुपर कप हार्नु एक दुर्घटना थियो । तर, बार्सिलोनाले बाँकी उपाधिका लागि बलियो दाबेदारी दिनेछ । हामी अहिले शान्त छौं । र, सम्हालिएर अघि बढ्छौं,’ कोम्यानले भने, ‘बार्सिलोना एक वा दुई हारले थाक्दैन ।’

ला लिगामा बार्सिलोना अहिले १८ खेलपछि ३४ अंक बनाएर तेस्रो स्थानमा छ । बार्सिलोना ताजा स्थितिमा लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ७ अंकले पछि छ । एथ्लेटिकोले अझै २ खेल खेल्न बाँकी नै छ । यदि बाँकी २ खेल पनि जिते बार्सिलोना एथ्लेटिकोभन्दा ठीक १३ अंकले पछि पर्नेछ । र, बार्सिलोनाका लागि यो अंक दूरी फलामको चिउरा चपाउनुसरह हुनेछ । जारी सिजन ला लिगामा हालसम्म एथ्लेटिकोले मात्रै १ खेल हार्दा बार्सिलोनाले ४ खेल हारिसकेको छ ।

प्रकाशित मिति ७ माघ २०७७, बुधबार १६:०५
Loading...