सुपर कपको फाइनलअघि युभेन्टसलाई नापोलीका खेलाडीको कडा चेतावनी !

एजेन्सी, माघ ७
इटालियन सुपर कप फुटबलको फाइनल खेल आज राति हुँदैछ । यसपटक उपाधिका लागि युभेन्टस र नापोलीले प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजबाट सुरु हुँदैछ । युभेन्टस गत सिजनको सिरी ए विजेता र नापोली गत सिजनको कोपा इटालियाको विजेता टिमको हैसियतमा सुपर कपमा प्रतिस्पर्धा गर्दैछन् ।

६ महिनाअघि मात्रै नापोलीले युभेन्टसलाई नै पेनाल्टी सुटआउटमा हराएर कोपा इटालियाको उपाधि जितेको थियो । निर्धारित समयमा खेल ०–० भएपछि खेल पेनाल्टीमा पुगेको थियो, जहाँ नापोली विजयी भयो । आज ती नै दुई टोली सुपर कपको उपाधिका लागि आमनेसामने हुँदैछन् । सो खेलअघि नापोलीका फरवार्ड लोरेन्जो इन्सिग्नेले युभेन्टसलाई चेतावनी दिँदै नापोली उपाधिका लागि तयार रहेको बताएका छन् ।

इन्सिग्नेले नापोलीले छिल्लोपटक लिगमा फियोरेन्टिनालाई ६–० ले हराएकाले युभेन्टसविरुद्ध सोही ऊर्जा र जोश बोकेर खेल्ने बताएका छन् । ‘हामी उपाधिका लागि एक ठूलो टिमविरुद्ध खेल्दैछौं । तर, हामी डराएका छैनौं । हामीले हालसालै फियोरेन्टिनालाई ६–० ले हरायौं । हामी यही उत्साह बोकेर सुपर कपको फाइनल खेल्नेछौं,’ इन्सिग्नेले भनेका छन्, ‘उपाधि जित्नु हाम्रो एक मात्रै लक्ष्य हो । युभेन्टसलाई हामी हेर्छौं ।’

इन्सिग्नेले युभेन्टसविरुद्ध खेल्दा आफूहरूले आत्मविश्वासी बनेर खेले पुग्ने बताएका छन् । ‘उनीहरूसँग निकै मजबुत टिम छ । त्यहाँ ठूला खेलाडीहरू छन् । तर, हामी आत्तिएका छैनौं । हामीले आफ्नो आत्मविश्वास कायम राखेर खेले पुग्छ । उनीहरूका पनि कमजोरी छन् । हामी त्यसको फाइदा उठाएर खेल्नेछौं,’ इन्सिग्नेले भने, ‘हामी च्याम्पियन बन्नेमा म ढुक्क छु ।’

प्रकाशित मिति ७ माघ २०७७, बुधबार ०९:१९
Loading...