‘म मेरा बच्चाहरूलाई मैले रोनाल्डोसँग खेलेको छु भनेर भन्नेछु’

एजेन्सी, माघ ६
इटालियन क्लब युभेन्टसका स्पेनिस फरवार्ड अल्भारो मोराटाले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । विगतमा रियल मड्रिडमा पनि सहकर्मी बनेर खेलेका यी दुई खेलाडी अहिले युभेन्टसमा पनि सँगै खेलिरहेका छन् । रियलमा छँदाजस्तै अहिले युभेन्टसमा पनि रोनाल्डो र मोराटाबीच निकै राम्रो सम्बन्ध छ । मैदानमा पनि राम्रो साझेदारी विगतबाटै चल्दै आएको छ ।

‘स्काई इटालिया’सँगको ताजा अन्तर्वार्ताक्रममा मोराटाले रोनाल्डोलाई ‘अविश्वसनीय’ खेलाडी रहेको बतााएका छन् । साथै, मोराटाले रोनाल्डोसँगै पटक–पटक सहकर्मी बनेर खेल्न पाउनु आफ्ना लागि जीवनको एक सुन्दर उपहारजस्तो रहेको बताएका छन् । ‘मैले रोनाल्डोसँग फरक–फक समयमा फरक–फरक टिमबाट खेल्न पाएँ । यस्तो अवसर सबैले पाउँदैनन् । उनी भएको टिममा खेल्न निकै सजिलो हुन्छ । जब उनी टिममा हुन्छन्, टिमले सुरक्षित महसुस गर्छ,’ मोराटाले भने, ‘क्रिस्टियानो साँच्चै अविश्वसनीय खेलाडी हुन् ।’

मोराटाले अघि थपे– ‘जब हामी सँगै खेलिरहेका हुन्छौं, हामी एकअर्काले के गर्न लागिरहेका छौं भन्ने छिट्टै थाहा हुन्छ । उनले कस्तो पास चाहन्छन् र कस्ता पासमा गोल गर्न सक्छन्, त्यो मलाई राम्रोसँग थाहा छ । अझ भनौं, २ सेकेन्डपछि हाम्रो मुभ कस्तो हुन्छ र को कहाँ पुग्दैछौं भन्ने कुरा हामी दुवैले जान्दछौं,’ मोराटाले भने, ‘मैले बल कसरी पास गर्छु र कहाँ दिँदैछु भन्ने उनीजति चाँडो बुझ्ने यहाँ कोही छैन ।’

मोराटाले आफ्ना बच्चाहरूलाई पछि आफूले रोनाल्डोसँग खेलें भनेर कथा सुनाउने भन्दै मिठो भनाइ राखेका छन् । ‘रोनाल्डोसँग खेल्नु मेरा लागि जीवनको एक सुन्दर उपहार हो । जब मेरा बच्चाहरू ठूला हुन्छन्, त्यसबेला म उनीहरूलाई मैले रोनाल्डोसँग खेलें भनेर सुनाउनेछु । र, हामीले गोल सेलिब्रेसन गरेको भिडियो देखाउनेछु,’ मोराटाले भने ।

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार १२:३५
Loading...