मेस्सीजस्ता ठूला खेलाडीलाई हामी सधैं चाहन्छौं : पिएसजी

एजेन्सी, माघ ६
फ्रेन्च क्लब पिएसजीका खेल निर्देशक लियान्द्रो अराउजोले स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीलाई अनुबन्ध गर्न पिएसजी खुला रहेको बताएका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै उनले मेस्सीजस्ता ठूला खेलाडीलाई पिएसजीले सधैं स्वागत गर्ने धारणा राखेका छन् । उनले पिएसजी मेस्सीलाई पेरिसमा उतार्न चाहन्छ भन्ने चर्चा गलत नरहेको पनि बताएका छन् ।

‘बजारमा मेस्सी र पिएसजीका विषयमा केही चर्चा छन् । त्यसमा केही सत्यता छ । हामी यसलाई स्वीकार गर्छौं कि, पिएसजी मेस्सीजस्ता ठूला खेलाडीलाई सधैं चाहन्छ,’ अराउजोले भनेका छन्, ‘यदि मेस्सीले साँच्चै स्पेन छाड्छन् भने हामी उनलाई चाहन्छौं । किनभने, पिएसजी मेस्सी सुहाउँदो टिम हो ।’

अराउजोले आफूहरूसँग नेइमार र केलियन एमबाप्पेजस्ता खेलाडी रहेकाले मेस्सी पनि भए अझै राम्रो हुने बताएका छन् । ‘हामीसँग अहिले नेइमार र एमबाप्पे छन् । यदि मेस्सी हामीसँग आउँछन् भने यो एक अद्भुत हुनेछ, अर्कै स्तर हुनेछ,’ अराउजोले भने ।

अराउजोले मेस्सी भित्र्याउन कसैले पनि सरुवा फी तिर्न नपर्ने हुँदा उनलाई सबै क्लबले चाहनु सामान्य रहेको बताए । ‘बार्सिलोनसँग मेस्सीको सम्झौता सकिँदैछ । तसर्थ उनलाई भित्र्याउन कुनै फी अब तिर्नुपर्दैन । त्यसले गर्दा उनलाई सबैजसो क्लबले चाहनु सामान्य हो,’ लियान्द्रोले भने, ‘तर, मेस्सीले सोचीसम्झी निर्णय लिनेछन् । मेरो विचारमा उनले उपाधि जित्न सकिने क्लब रोज्नेछन् । र, पिएसजी एक हो ।’

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार ०४:२३
Loading...