मेस्सीमाथि अधिकतम् कारबाही हुने : कति खेलमा प्रतिबन्ध लाग्छ ?

एजेन्सी, माघ ५
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सीमाथि अनुशासन उल्लंघनमा अधिकतम् कारबाही हुने भएको छ । गत राति सुपर कप फुटबलको फाइनल खेल दौरान एथ्लेटिक बिल्बाओका खेलाडीमाथि नियोजित रूपमा आक्रमण गरेपछि अर्जेन्टिनी खेलाडीमाथि कडा कारबाही हुने भएको हो ।

उपाधि भिडन्तमा बार्सिलोना ९० मिनेटपछि थप ३० मिनेटको समय सकिन लाग्दा ३–२ ले पछि परेका बेला निराश र हतास मुडमा रहेका मेस्सीले धैर्यता गुमाएर बिल्बाओका एसियर भिल्लालिब्रेमाथि आक्रमण गरेका थिए । मेस्सीलाई रोक्न भिल्लालिब्रे अघि बढेका बेला मेस्सीले पछिबाट भिल्लालिब्रेको गर्धनमा हातले प्रहार गरे । मेस्सीको निशानामा परेका उनी पुर्लुक्कै मैदानमा बजारिए । पछि रेफ्रीले भिएआरमार्फत् मेस्सीले आक्रमण गरेको पुष्टि भएपनि मेस्सीलाई सोझै रातो कार्ड दिएका थिए ।

मेस्सीले बार्सिलोनाको १७ वर्षे करिअरमा पहिलोपटक रातो कार्ड पाएका हुन् । यसअघि उनले क्लब फुटबलमा कहिल्यै पनि रातो कार्ड खानु परेको थिए । तर, गत राति संयमता गुमाउँदा मेस्सीले मैदानमा विपक्षी खेलाडीमाथि अस्वभाविक रूपमा आक्रमण गर्न पुगे, जुन उनी र क्लबका लागि पनि महँगो पर्ने भएको छ । मेस्सीको सो खराब व्यवहारका कारण उनीमाथि अब ला लिगाको सिफारिसमा स्पेनिस फुटबल संघले अधिकतम् काबारही गर्ने सम्भावना छ ।

नियमअनुसार मेस्सीमाथि कम्तीमा ४ खेलसम्मको प्रतिबन्ध हुनेछ । त्योभन्दा बढी उनीमाथि ७ खेलसम्मको प्रतिबन्ध लाग्न सक्छ । खेलपछि रेफ्रीले लिगलाई बुझाएको खेल रिपोर्ट र उनले सिफारिस गरेको कारबाहीको आधारमा मेस्सीमाथिको कारबाही कति हुने कुरा निर्भर हुन्छ । सामान्यतः खेल दौरान विपक्षी खेलाडीमाथि नियोजित रूपमा आक्रमण गरे, हात उठाए वा चोट पुराए वा गम्भीरखाले अनुशासन उल्लंघन गरे कम्तीमा ४ देखि ७ खेलसम्मको प्रतिबन्ध लाग्न सक्छ ।

स्पेनका अधिकांश मिडियाले मेस्सीमाथि कम्तीमा ४ खेलको प्रतिबन्ध पक्काजस्तै रहेको खबर छापेका छन् । मेस्सीमाथि ४ खेलको मात्रै प्रतिबन्ध लागे उनले ला लिगा र कोपा डेल रे कपमा २–२ खेल गुमाउनेछन् । त्योभन्दा बढी भए ला लिगामा उनले बढी खेल गुमाउनेछन् । टिम घरेलु लिगमा कमजोर स्थितिमा रहेका बेला अब मेस्सीको रातो कार्डले बार्सिलोनालाई थप समस्या बढाउने पक्का छ ।

प्रकाशित मिति ५ माघ २०७७, सोमबार ०८:०२
Loading...