१७ वर्ष र ७५३ खेलपछि मेस्सीले पहिलोपटक रातो कार्ड पाउँदा ……..

काठमाडौं, माघ ५
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले १७ वर्षे लामो क्लब फुटबल करिअरमा पहिलोपटक रातो कार्ड पाएका छन् । गत राति स्पेनिस सुपर कप फुटबलको फाइनल खेलमा एथ्लेटिक बिल्बाओविरुद्ध खेल्नेक्रममा मेस्सीले सोझै रातो कार्ड पाए, जुन क्लब फुटबल अर्थात् बार्सिलोना करिअरमै उनका लागि पहिलो रातो कार्ड थियो ।

फाइनल खेलमा बार्सिलोनालाई रोमाञ्चक तरिकाले ३–२ ले हराउँदै बिल्बाओले उपाधि जित्दा बार्सिलोना उपाधिको मुखमा पुगेर चुकेको थियो । ८९औं मिनेटसम्म खेलमा २–१ ले अघि रहेको बार्सिलोनाले ९०औं मिनेटमा दोस्रो गोल खायो । र, त्यसपछि थप भएको ३० मिनेटमा धेरै कुरा बदलिए । जहाँ बिल्बाओले उपाधि जित्ने निर्णायक गोल मात्रै ठोकेन, मेस्सी रातो कार्डको सिकार समेत भए । मेस्सीले खेल दौरान देखाएको खराब व्यवहार र सो रातो कार्ड अब उनका लागि निकै महँगो पर्ने भएको छ ।

बार्सिलोनाका लागि फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले खेलको ४०औं मिनेटमा पहिलो गोल गरेका थिए । तर, त्यसको २ मिनेटमै बिल्बाओका लागि ओस्कार डे मार्कोसले गोल गरेर खेल १–१ बनाए । त्यसपछि ७७औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई जिततर्फ अघि बढाएका थिए । सोही अग्रता लिएर बार्सिलोना जितको मुखैमा पुगेको थियो । केही मिनेट सम्हालिएको भए बार्सिलोनाले सिजनको पहिलो उपाधि र कूल १४औं पटक सुपर कपको उपाधि उचाल्ने थियो ।

तर, खेलको ९०औं मिनेटमा बिल्बाओका लागि एसिएर भिल्लालिब्रेले फ्रि किकबाट आएको बलमा गोल फ्लिक गर्दै गरेपछि खेल नाटकीय रूपमा २–२ को बराबरीमा पुग्यो । ४ मिनेटको इन्जुरी समयममा दुवै तर्फबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप भयो ।

तर, थप समय सुरु भएको तेस्रो मिनेटमै बिल्बाओका लागि इनाकी विलियम्सले बक्स लाइनबाट खतरनाक सटमा गोल गरे । उनको शक्तिशाली प्रहारलाई बार्सिलोनाका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् । उनले त बल कुन दिशाबाट आयो भनेर भेउ समेत पाएनन् । विलियम्सको गोलपछि बिल्बाओले खेलमा ३–२ को अग्रता बनायो । त्यसपछि उसले खेलको रणनीति नै बदलेर दोहोरो डिफेन्स लाइन बनाउँदै बाँकी समयभरि बार्सिलोनालाई छेकेरै खेल जित्यो ।

खेलक्रममा कप्तान मेस्सीले केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । फाइनलमा औसत मात्रै प्रदर्शन गरेका मेस्सीको हरेक मुभमा बिल्बाओको डिफेन्स लाइन तगारो बनिरहेको थियो । टिम हार नजिक पुग्दै गर्दा मेस्सी निकै निराश र हतास देखिन्थे । उनका सबैखाले प्रयास असफल भइरहेका थिए । निराश र हतास मेस्सीले आफूलाई सम्हाल्न नसक्दा खेलको १२१औं मिनेटमा उनले विपक्षी खेलाडी एसियर भिल्लालिब्रेको गर्धनमा हातले हानेर पुर्लुक्कै लडाए । मेस्सीले रेफ्रीको आँखा चल्दै जानाजान भिल्लालिब्रेमाथि प्रहार गरेका थिए ।

सुरुआतमा रेफ्रीले मेस्सीले विपक्षी खेलाडीलाई कुटेको देखेनन् । तर, भिल्लालिब्रे भुइँमा बजारिएर छटपटिन थालेपछि रेफ्रीले भिएआरमा जाँच गरे, जहाँ मेस्सीले जानीजानी उनलाई कुटेको देखिएपछि रेफ्रीले मेस्सीलाई सोझै रातो कार्डको दर्शन गराउँदै मैदानबाट निकालेका थिए । मेस्सीको रातो कार्ड र टिमको हार यी दुवै कुराले बार्सिलोनाको सिजनको पहिलो फाइनल खेल निकै खराब बनाइदियो ।

यससँगै मेस्सीले क्लब फुटबलमा पहिलोपटक रातो कार्ड पाएका छन् । आफ्नो सिंगै करिअर बार्सिलोनामा बिताउँदै गरेका मेस्सीले यसअघि कहिल्यै पनि रातो कार्ड पाएका थिएनन् । क्लब फुटबलमा उनको यो नै पहिलो रातो कार्ड हो । बार्सिलोनाको सिनियर टोलीका लागि उनले १७ वर्ष र कूल ७५३ खेल खेल्नेक्रममा पहिलोपटक रातो कार्ड पाए । तर, अर्जेन्टिनाको टोलीमा भने उनले दुईपटक रातो कार्ड पाइसकेका छन् । उनले आफ्नो करिअरमा हालसम्म पाएको कूल रातो कार्डकोे संख्या अब ३ पुगेको छ ।

प्रकाशित मिति ५ माघ २०७७, सोमबार ०४:०८
Loading...