फर्नान्डेजले रचे प्रिमियर लिगको इतिहासमै दुर्लभ कीर्तिमान

काठमाडौं, माघ २
इंग्लिस प्रिमियर लिग क्लब मयानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर ब्रुनो फर्नान्डेज प्लेयर अफ् द मन्थ घोषित भएका छन् । आज लिगले पोर्चुगिज खेलाडीलाई डिसेम्बर महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषित गरेको हो । यससँगै फर्नान्डेजका नाममा अब प्रिमियर लिग इतिहासकै दुर्लभ रेकर्ड बनेको छ !

फर्नान्डेज प्रिमियर लिगको इतिहासमा एकै वर्षमा चारपटक प्लेयर अफ् द मन्थ अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि प्रिमियर लिगको यति लामो इतिहासमा कुनै पनि खेलाडीले एक वर्षभित्रमा चारपटक प्लेयर अफ् द मन्थ अवार्ड जितेका थिएनन् ।

फर्नान्डेज गत जनवरी विन्डोमा युनाइटेडमा अनुबन्ध भएका थिए । त्यसयता उनले फेब्रुअरी, जुन, नोभेम्बर र डिसेम्बर गरी चारपटक प्लेयर अफ् द मन्थ अवार्ड जितेका हुन् । डिसेम्बर महिनामा उनले ६ खेलबाट ३ गोल गर्दै ३ गोलमा असिस्ट प्रदान गरेका थिए ।

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार १२:३२
Loading...