मेस्सीले सुपर कपको फाइनल खेल्ने सम्भावना कति ?

काठमाडौं, माघ २
आइतबार राति स्पेनिस सुपर कप फुटबलको उपाधि भिडन्तमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दैछन् । सो खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी खेल्न फिट हुन्छन् कि हुँदैनन् भन्नेमा धेरैको चासो छ । मेस्सीले यसअघि सेमिफाइनलमा रियल सोसिडाड विरुद्धको खेल पनि गुमाएका थिए ।

ला लिगामा ग्रानाडाविरुद्धको खेल दौरान तिघ्राको मांशपेसीमा चोट बोकेपछि मेस्सीले ६५औं मिनेटमा मैदान छाडेका थिए । त्यसपछि उनले सोसिडाडविरुद्धको खेल गुमाएका थिए । मेस्सीबिनाको बार्सिलोनाले सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर फाइनल प्रवेश गरेको छ । यता, बिल्बाओले रियल मड्रिडलाई २–१ ले हराउँदै बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको छ ।

अहिले धेरैको नजर उपाधि भिडन्तमा मेस्सी खेल्न उपलब्ध हुन्छन् कि हुँदैनन् भन्नेमा । स्पेनिस पत्रिका ‘स्पोर्ट’को रिपोर्टअनुसार हालको स्थितिमा बार्सिलोनासँग केवल आशा मात्रै छ– मेस्सी अन्तिम समयसम्म फाइनल खेल खेल्न ठीक हुनेछन् । र, मेस्सी शुक्रबार प्रशिक्षणमा फर्किएर शनिबारको प्रशिक्षणमा सामेल हुन्छन् कि हुँदैनन् भन्ने कुराले उनले फाइनल खेल्ने कुरा निर्भर गर्नेछ ।

यदि मेस्सीले शनिबारको अन्तिम प्रशिक्षण ठीकठाक पूरा गरे र मेडिकल टिमले उनलाई अनुमति दिए मात्रै मेस्सीले फाइनल खेल्नेछन् । अन्यथा, प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सीमाथि जोखिम मोल्ने गल्ती गर्नेछैनन् । अगाडि सिजनका महत्त्वपूर्ण खेलहरू आउँदै गरेकाले बार्सिलोना मेस्सीको १०० प्रतिशत फिटनेसको पर्खाइमा छ ।

रिपोर्टअनुसार मेस्सीले फाइनल खेल्ने सम्भावना न्यून मात्रै छ । यदि उनले शनिबारको सामूहिक ट्रेनिक ठीकठाक पूरा गरे र आफूलाई फिट महसुस गरे मात्रै उनले फाइनल खेल्नेछन् । अन्यथा, बार्सिलोना मेस्सीबिनै बिल्बाओसँग सिजनको पहिलो उपाधिका लागि भिड्नेछ ।

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार ०९:५८
Loading...