रियल मड्रिड सुपर कपको सेमिफाइनलबाटै आउट : बिल्बाओ फाइनलमा

काठमाडौं, माघ २
रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको सेमिफाइनलबाटै आउट भएको छ । गत राति भएको सेमिफाइनल खेलमा रियल मड्रिड ला लिगा टोली एथ्लेटिक बिल्बाओसँग १–२ ले पराजित हुँदै उपाधि होडबाट आउट भएको हो । यता, बिल्बाओ भने प्रमुख उपाधि दाबेदार टिमलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

यससँगै रियल मड्रिडले नयाँ सिजनको पहिलो उपाधि जित्ने अवसर गुमाएको छ । सुपर कपमा उसलाई उपाधिका लागि सबैभन्दा प्रमुख दाबेदार टिम मानिएको थियो । तर, तुलनात्मक रूपमा कमजोर टोली बिल्बाओले उसको उपाधि सपनामा पानी पोखिदियो । खेलभरि रियलका दुई गोलले मान्यता नपाउनु र चार प्रहार पोल–बारमा लागेर फर्किनु दुर्भाग्यपूर्ण बन्यो ।

बिल्बाओलाई फाइनलसम्म लैजान राउल गार्सिया नायक बने । उनले १ पेनाल्टीसहित २ गोल गरे । उनले खेलको १८औं मिनेटमा पहिलो गोल गरेका थिए । रियलका खेलाडीले मैदानको मध्य भागमा पास खेल्नेक्रममा गल्ती गर्दा गोल खाएको थियो । अनमार्क अवस्थामा पाएको बल केही अगाडि बढाएर गार्सियाले रियलका कप्तान सजियो रामोसलाई बिट गर्दै हानेको लो सटले जाली चुमेको थियो ।

त्यसपछि खेलको ३८औं मिनेटमा बिल्बाओले अग्रता दोब्बर बनायो । यसपटक बक्समा रियलका लुकास भासक्वेजले विपक्षी खेलाडीलाई फउल गरेर लडाएपछि रेफ्रीले बिल्बाओलाई पेनाल्टी दिएका थिए, जसमा गार्सियाले नै प्रहार गर्दै टिमलाई ०–२ को अग्रता दिलाए ।

पहिलो हाफमा ०–२ ले पछि परेको रियलले खेलमा फर्किन ठूलै संघर्ष देखाइरहेको थियो । सोहीक्रममा खेलको ७३औं मिनेटमा रियलका लागि करिम म बेन्जेमाले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनको गोललाई भिएआरले मान्यता दिएको थियो । तर, त्यसपछि बाँकी समयमा रियलले गोल गर्न सकेन । र, खेल बिल्बाओले १–२ ले जित्यो । खेलमा करिम बेन्जेमाले अन्तिम समयमा गरेको दोस्रो गोललाई भिएआरले रद्द गरिदिएको थियो ।

बिल्बाओको पोस्टमा रियलले खेलभरिमा कूल २१ आक्रमण बुनेको थियो, जसमा ६ प्रहार अन टार्गेट हानेको थियो । उसले कूल ६६७ सफल पास खेल्दै ७१ प्रतिशत बल आफन्नो पक्षमा राखे पनि नतिजा निकाल्न सकेन । खेलभरिमा रियलका कूल ४ प्रहार पोल र बारमा लागेर फर्किंदा रियल पटक–पटक निराश बनेको थियो ।

अब सुपर कपको उपाधिका लागि बिल्बाओ र बार्सिलोना भिड्ने छन् । बार्सिलोना अघिल्लो दिन रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर फाइनल पुगेको थियो । फाइनल खेल आइतबार राति हुनेछ ।

प्रकाशित मिति २ माघ २०७७, शुक्रबार ०१:४९
Loading...