टिमलाई फाइनल पुर्‍याएपछि कोम्यानले गरे रिकी पुजको शानदार प्रशंसा

काठमाडौं, माघ १
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना युवा मिडफिल्डर रिकी पुजको उच्च प्रशंसा गरेका छन् । गत राति स्पेनिस सुपर कप फुटबलको सेमिफाइनलको खेलमा युवा खेलाडी पुजले टिमको जितमा निर्णायक पेनाल्टी गोल गरेका थिए । पेनाल्टी सुटआउटमा स्कोर २–२ भएका बेला पुजले पाँचौं स्थानमा पेनाल्टी प्रहार गर्दै टिमलाई फाइनलमा पुराएका थिए ।

बार्सिलोनाका फ्रेन्की डे जोङ र एन्टोनी ग्रीजम्यानले पेनाल्टी मिस गरेर टिम दबाबमा रहेका बेला पुजले अन्तिम पेनाल्टीमा गोल गर्दै टिमलाई बचाएनन् मात्रै, उपाधि होडमा पनि कायमै राखे । पेनाल्टी प्रहार गर्नुअघि पुज आफैंले प्रशिक्षक कोम्यानसँग पाँचौं पेनाल्टी आफूलाई हान्न दिन आग्रह गरेका थिए, जहाँ उनको आग्रहलाई कोम्यानले पनि इन्कार गरेनन् ।

बार्सिलोनामा प्रशिक्षक बनेर आउनासाथ कोम्यानले सुरुआतमा पुज आफ्नो योजनामा नरहेको बताउँदै उनलाई लोनमा नयाँ क्लब खोज्न भनेका थिए । तर, पुजले खेल्न पाए पनि वा नपाए पनि आफू बार्सिलोनामै रहने बताएपछि पुज सानैबाट फुटबल सिक्दै–खेल्दै आएको बार्सिलोनामै रहेका थिए । नयाँ सिजन सुरु भएपछि कोम्यानले युवा प्ले मेकरलाई कमै खेलमा मात्र मौका दिँदै आएका थिए । कोम्यानले कम महत्त्वका खेलमा मात्रै पुजलाई खेलाउँदै आएका छन्, त्यो पनि बेन्चबाट ।

तर, गत राति सुपर कपको सेमिफाइनलमा उनै पुजले टिम कठिन अवस्थामा रहेका बेला गोल गरेपछि कोम्यानले पुजको उच्च प्रशंसा गरेका छन् । खेलपछि प्रतिक्रिया दिँदै कोम्यानले पुजले रियल सोसिडाडविरुद्ध उच्च प्रदर्शन गर्दै टिमको जितमा ठूलो योगदान दिएको बताए । ‘रिकी पुज युवा छन् । तैपनि, उनले पाएको समयमा राम्रो गर्छन् । उनले आज पनि त्यो साबित गरे । जब म उनलाई बोलाउँछु, उनले टिमलाई निराश बनाउँदैनन्,’ कोम्यानले भने, ‘खेल पेनाल्टीमा जानुअघिसम्म पनि उनले टिमलाई राम्रोसँग सघाएका थिए । आज म उनीबाट एकदमै खुसी छु । सिंगो टिम खुसी छ ।’

कोम्यानले यो पनि बताएका छन् कि, सोसिडाडविरुद्ध पेनाल्टी प्रहारको सूची बनाउँदै गर्दा पुजले नै आफूलाई पनि अवसर दिन आग्रह गरेका थिए । ‘पेनाल्टी सुटआउटका लागि मैले ४ जना खेलाडी छानिसकेको थिएँ । मैले खेलाडीलाई पाँचौं स्थानका लागि को तयार छ भनेर सोध्न लाग्दै थिएँ । त्यसैबेला पुज अगाडि आएर भने– पाँचौं पेनाल्टी मलाई दिनुहोस्, पालो आयो भने म गोल गर्छु । मलाई विश्वास गर्नुहोस्,’ कोम्यानले भने, ‘जब कोही खेलाडी यति आत्मविश्वास र हिम्मत लिएर पेनाल्टी म हान्छु, मेरो नाम लेख्नुहोस् भन्छ भने मैले किन उनलाई अवसर नदिने ?’

कोम्यानले पुजको हिम्मतबाट आफू प्रभावित भएको भन्दै उनको स्टाइल मन परेको पनि बताए । ‘पुजले कठिन अवस्थामा टिमका लागि पाँचौं स्थानमा पेनाल्टी लिन जुन हिम्मत देखाए, उनको त्यो आत्मविश्वास र स्टाइल मलाई बहुत मन पर्यो । उनी युवा छन् र हिम्मतवाला पनि । मलाई आशा छ, आगामी दिनमा पनि उनले टिमलाई यसरी नै सघाउनेछन् ।’

गत राति पुजले गरेको गोल बार्सिलोनाको सिनियर टोलीका लागि करिअरकै पहिलो गोल थियो । उनले जारी सिजन बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट ७ खेल खेलेका छन् । तर, पुजको करिअर स्टाटसमा सोसिडाडविरुद्ध उनले पेनाल्टी सुटआउटमा गरेको गोल भने गणना हुनेछैन ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार १५:४६
Loading...