फुटबल संघद्वारा बार्सिलोना र मेस्सीमाथि कारबाहीको फैसला

एजेन्सी, माघ १
स्पेनिस फुटबल संघले बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीमाथि कारबाहीको फैसला गरेको छ । केही समयअघि दिवंगत खेलाडी डिएगो म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गर्न लिओनल मेस्सीले गरेको सेलिब्रेसन नियमबिपरीत भएको ठहर गर्दै फुटबल संघको अनुशासन कमिटीले मेस्सीमाथि आर्थिक जरिमानाको कारबाही गरेको हो ।

गत मंसिर १४ गते बार्सिलोनाले आफ्नो घरेलु मैदानमा ला लिगाअन्तर्गत ओसासुनालाई ४–० ले हराउनेक्रममा मेस्सीले १ गोल गरेका थिए । सो गोलपछि उनले त्यसको केही दिनअघि मात्रै निधन भएका अर्जेन्टिनी महान् खेलाडी म्याराडोनाप्रति अर्कै क्लबको जर्सीमा सेलिब्रेसन गरेका थिए ।

मेस्सीले गोल गरेपछि म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गर्नेक्रममा बार्सिलोनाको जर्सी फुकालेर भित्र लगाइराखेको अर्जेन्टिनाकै घरेलु क्लब न्युवेल्स ओल्ड ब्वाईजको जर्सीमा म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । म्याराडोनाले आफूले फुटबल सिकेको क्लब न्युवेल्समा लगाउने १० नम्बर जर्सी लगाएर मेस्सीले आफ्नो देशका महान् खेलाडीप्रति श्रद्धा अर्पण गरे । मेस्सीले म्यााडोनाप्रति फरक शैलीबाट गरेको श्रद्धाञ्जलीको धेरैले प्रशंसा गरे भने चर्चा पनि उत्तिकै पायो ।

तर, सो सेलिब्रेसन मेस्सी र बार्सिलोनाका कारबाहीको कारण बनेको छ । मेस्सीको सोही सेलिब्रेसनकै कारण संघले क्लब बार्सिलोनामाथि ३००० युरो र मेस्सीमाथि व्यक्तिगत रूपमा ६०० युरो जरिमानाको कारबाहीको फैसला गरेको छ । स्पेनिस फुटबलको नियमअनुसार कुनै पनि खेलाडीले गोलको सेलिब्रेसन गर्नेक्रममा वा खेल अवधिमा मैदानमा कुनै पनि प्रकारले अन्य क्लबको जर्सी लगाउन वा कुनै पनि हिसाबले प्रयोग पाउँदैनन् । मेस्सीले अर्जेन्टिनाको क्लब न्युवेल्सको जर्सी लगाएर सो नियम तोडेको स्पेनिस फुटबल संघले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार १४:०७
Loading...