कोचले ४ जनाको नाम लेखेपछि रिकी पुजले अघि सरेर भने– ‘बोस, पाँचौं पेनाल्टी म हान्छु’

काठमाडौं, माघ १
स्पेनिस सुपर कप फुटबलमा गत राति बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछि थप ३० मिनेको समय पनि बराबरीमा सकिएपछि खेल पेनाल्टीसम्म धकेलिएको थियो । बार्सिलोनालाई कठिन अवस्थामा जिताएर फाइनलसम्म लैजान गोलकिपर मार्क आन्द्रेट टर स्टेगेनले नायकको भूमिका खेलेका थिए । उनले खेलभरिमा ६ कठिन प्रहार बचाए भने पेनाल्टी सुटआउटमा लगातार दुई पेनाल्टी रोकेका थिए ।

पेनाल्टी सुटआउटमा बार्सिलोनाले अन्तिम अर्थात् पाँचौं पेनाल्टी प्रहार गर्नुअघि खेल २–२ को अवस्थामा थियो । जहाँ बार्सिलोनाका लागि युवा स्टार रिकी पुजले टिमका लागि निर्णयक पेनाल्टी प्रहार गर्दै टिमलाई जिताए । सो खेलपछि पुजको चर्चा र प्रशंसा बढेको छ ।

सो खेलमा बार्सिलोनाका फ्रेन्की डे जोङ, एन्टोनी ग्रीजम्यानले पेनाल्टी मिस गरे पनि अन्तिम पेनाल्टीमा पुजले टिमलाई निराश हुन दिएनन् । र, आत्मविश्वासका साथ पेनाल्टी हान्दै टिमलाई जिताए । खेलपछि पुजले मिडियासँग निकै मिठो प्रतिक्रिया दिएका छन् । उनले टिमका लागि विजयी पेनाल्टी प्रहार गर्न पाउँदा खुसी लागेको मात्रै बताएनन्, प्रशिक्षकसँग पाँचौं पेनाल्टी प्रहार गर्न आफैंले मौका मागेको पनि खुलाएका छन् । उनले खेलपछि कुरा गर्दै भनेका छन्–

‘उहाँ (प्रशिक्षक)ले पेनाल्टी प्रहार गर्ने ४ खेलाडीको नाम लेखिसकेर पाँचौंका लागि छलफल गर्दै हुनुहुन्थ्यो । उहाँ आफैंले मलाई सूचीमा राख्नुुहुन्न भन्ने मलाई लाग्यो । अनि मैले हिम्मत गरेर उहाँको नजिक गएर भनें– बोस, पाँचौं पेनाल्टी हान्न मलाई दिनुहोस् । उहाँले मतिर हेर्दै धाप मारेर हुन्छ भन्नुभयो । र, मेरो नाम लेख्नुभयो । त्यसबेला मसँग चुनौती र अवसर सँगै थियो । खेल २–२ भएका बेला मेरो पालो आयो । र, मैले हिम्मतका साथ पेनाल्टी प्रहार गरें । र, गोल पनि गरें । यो क्षण मेरा लागि एकदमै खुसीको क्षण हो । किनभने, मैले अवसर मात्रै मागिनँ, त्यसलाई साबित पनि गरें ।’

पुजले टिमको जितमा सघाउन पाउँदा जयादै खुसी लागेको पनि बताए । ‘हामीले अन्तिमसम्म सबैले टिमका रूपमा खेल्यौं । तर, निर्णायक पेनाल्टी हानेर टिमलाई जिताउन पाउँदा म बहुत खुसी छु । टिमको जितमा प्रत्यक्ष सघाउन पाउँदा सबैलाई खुसी लाग्छ,’ पुजले भने, ‘आजको खेल मेरा लागि विशेष भयो ।’

प्रशिक्षक कोम्यानप्रति संकेत गर्द पुजले आफू प्रशिक्षकले डाकेका बेला सधैं तयार रहेको पनि बताए । ‘यदि प्रशिक्षकले मलाई मैदानमा बोलाउनुहुन्छ भने म सधैं १०० प्रतिशत दिन तयार छु । म सधैं खेल्न र टिमको हिस्सा बन्न चाहन्छु, ’ पुजले थपे ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार १२:४०
Loading...