अन्तर्वार्ता दिन प्रम ओलीले बोलाएको भारतीय टिभीले भन्यो– ‘सगरमाथा अब भारतको पनि’

काठमाडौं, पुस २९
केही दिनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले नेपालको राष्ट्रियतामाथि ठूलो धावा बोल्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । ‘जी न्यूज’ले नेपालको सर्वोच्च शिखर सगरमाथामाथि भारतले पनि दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट बजाएको छ । सो रिपोर्टले नेपालको राष्ट्रियतामाथि सिधासिधी हमला गरेको छ ।

‘जी न्यूज’का प्रधानसम्पादक सुधीर चौधरीसहितको टोली नेपाल आएर केही दिनअघि मात्रै अन्तर्वार्ता लिएको थियो । सो टोलीलाई प्रधानमन्त्री ओली आफैंले बोलाएका थिए । सो अन्तर्वार्ताक्रममा प्रम ओलीले नेपालको हित र राष्ट्रियताको पक्षमा बोलेको भन्दै सर्वसाधारणका तर्फबाट वाहीवाही भइरहँदा सोही टिभीले भने सगरमाथा भारतको बनाउन अभियान चलाउनुपर्ने भन्दै रिपोर्ट प्रशारण गरेको छ । ओलीको अन्तर्वार्ता लिने चौधरी कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

त्यत्ति मात्रै हैन, पहिला पनि नेपालका विरुद्धमा पटक–पटक विभिन्न रिपोर्ट बजाउँदै आएका चौधरीले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ वा ‘माउन्ट सिकदर’ राख्नुपर्ने भन्दै नाम नै फर्ने अभियान सुरु गर्नुपर्ने पनि बताएका छन् । चौधरीले राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेको जिकिर गर्दै उनकै नामबाट सगरमाथाको नयाँ नाम राख्नुपर्ने दाबी गरेका छन् ।

पत्रकार चौधरी तिनै व्यक्ति हुन्, जसलाई प्रधानमन्त्री केपी शर्मा ओली आफैंले भारतबाट झिकाएर बालुवाटारस्थित निवासमा न्यानो स्वागत दिँदै अन्तर्वार्ता दिएका थिए । पत्रकार चौधरीले यसअघि पनि नेपाल–भारत सीमा विवाद चलिरहँदा आपत्तिजनक भिडियो प्रशारण गरेको थिए । जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित संवादसहित आपत्तिजनक रिपोर्ट बजाएको थियो । त्यसकै विरोधमा नेपालका केवल अपरेटरहरूले ‘जी न्युज’सहितका केही भारतीय च्यानल प्रशारणमा रोक लगाएको थियो ।

त्यसबेला आफ्नो विषयमा एकदमै घटिया र चरित्र हत्या गर्ने गरी भिडियो सामग्री प्रशारण गर्ने उनै पत्रकार चौधरीलाई आफैंले बालुवाटार बोलाएर प्रधानमन्त्रीले अन्तर्वार्ता दिएका थिए । तर, उनले सगरमाथाको काखमा पुगेर त्यही सगरमाथा भारतको दाबी गर्न मात्रै भ्याएनन्, अब नाम नै फेर्ने समेत बताएका छन् ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार ०५:०१
Loading...