‘६ दिनमा बार्सिलोनाले यस सिजनको पहिलो उपाधि जितेर देखाउँछ’

काठमाडौं, पुस २८
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आगामी ६ दिनभित्रमा नयाँ सिजन २०२०–२१ को पहिलो उपाधि जित्नेछ, यस्तो दाबी क्लबका मिडफिल्डर फ्रेन्की डे जोङले गरेका छन् । डच खेलाडी उनले बार्सिलोनाको अफिसियल टिभीसँग कुरा गर्दै बार्सिलोना नयाँ सिजनको पहिलो उपाधि उचाल्न आतुर रहेको बताएका हुन् ।

बार्सिलोनाले भोलि (बुधबार) स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल सोसिडाडको सामना गर्दैछ । फाइनल पुग्न बार्सिलोनाले सो खेल जित्नैपर्छ । र, फाइनल पुगे उसले उपाधिका लागि रियल मड्रिड र एथ्लेटिक बिल्बाओबीचको विजेतासँग खेल्नुपर्नेछ । फाइनल खेल जनवरी १७ तारिखमा हुनेछ । सुपर कपअघि डे जोङले बार्सिलोना सुपर कपका लागि तयार रहेको बताएका छन ।

‘हामी सुपर कपका लागि तयार छौं । हामीले राम्रोसँग प्रशिक्षण गरेका छौं । हामी सिजनको महत्त्वपूर्ण मोडमा आइपुगेका छौं । किनभने, हामी यस सिजनको पहिलो उपाधिका लागि प्रतिस्पर्धा गर्न गइरहेका छौं,’ डे जोङले भनेका छन्, ‘हामी निकै उत्साहित छौं । सुपर कप जितेर हामी यस सिजनको पहिलो उपाधिको खुसी मनाउन चाहन्छौं ।’

डे जोङले बार्सिलोनाले सेमिफाइनल र फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर च्याम्पियन बन्ने दाबी गरेका छन् । ‘पछिल्लो समय हामीले राम्रो प्रदर्शनका साथ राम्रो नतिजा निकालेका छौं । यसबाट हामी उत्साहित छौं,’ डे जोङले भने, ‘बार्सिलोना यस सिजनलाई सफल बनाउन तयार छ भन्ने ६ दिनमा सुपर कप जितेर देखाउनेछ । हामी एकदमै आतुर छौं ।’

डे जोङले बार्सिलोनाले ला लिगा जित्ने दाबी पनि गरेका छन् । ‘ला लिगा बार्सिलोनाका अझै खुला छ । हामी चिन्तित छैनौं । किनभने, त्यहाँ अझै थुप्रै खेलहरू बाँकी छन् । बार्सिलोना चाँडै शीर्ष स्थानमा उक्लिनेछ,’ डे जोङले भने, ‘बार्सिलोना आजका दिनसम्म सबै उपाधि जित्न सक्ने स्थितिमै छ ।’

प्रकाशित मिति २८ पुष २०७७, मंगलवार १४:१२
Loading...