मेस्सीको फिटनेसमा समस्या : अवस्था कस्तो छ ?

एजेन्सी, पुस २७
शनिबार राति ला लिगामा भएको ग्रानाडा र बार्सिलोनाबीच भएको खेल दौरान कप्तान लिओनल मेस्सीलाई खेलको ६५औं मिनेटमा सब्सिच्युट गरियो । उनको स्थानमा मार्टिन ब्रेथवेटलाई मैदान छिराइएको थियो । मेस्सीले मैदान छाड्दा बार्सिलोना ०–४ ले अघि थियो । पछि बार्सिलोनाले त्यही अग्रता बचाएर खेल जित्यो ।

सो खेलत्रममा मेस्सी तिघ्राको ब्याक साइडको मांशपेसीमा समस्या भएपछि मैदान छाडेका थिए । मेस्सी आफैंले खेल्न असहज भएपछि प्रशिक्षक रोनाल्ड कोम्यानलाई सांकेतिक सन्देश दिँदै आफ्नो स्थानमा अर्को खेलाडी पठाउन भनेपछि कोम्यानले तत्कालै ब्रेथवेटलाई छिराए । मेस्सीमाथि थप जोखिम बढ्न नदिन पनि कोम्यानले तत्कालै मेस्सीलाई सब्सिच्युट गराए । मैदान छाड्नुअघि मेस्सीले २ गोल गरिसकेका थिए ।

मेस्सीको मांशपेसीको समस्या कस्तो हो भन्नेबारे स्पेनिस मिडियाले बार्सिलोनाको मेडिकल टिमलाई स्रोत उद्धृत गर्दै खबर छापेका छन् । रिपोर्टअनुसार मेस्सीले खेल दौरान असहज भएपछि आफैंले मैदान छाड्न चाहेका थिए । खेलपछि चेकजाँचमा मेस्सीको मांशपेसीमा खास समस्या नदेखिएको उल्लेछ । तर, उनको फिटनेसमा भने समस्या रहेको छ । आगामी खेलमा उनको उपलब्धता निश्चित भने छैन ।

बार्सिलोनाले बुधबार स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल सोसिडाडसँग खेल्दै छ । सो खेलमा कोम्यानले मेस्सीलाई खेलाउँछन् कि खेलाउँदैनन् भन्ने यकिन छैन । मेस्सी अहिले राम्रो लयमा फर्किनेक्रममा रहेकाले उनी १०० प्रतिशत फिट नहुँदासम्म उनलाई मैदान उतार्नु जोखिमपूर्ण हुनेमा कोम्यान सचेत छन् ।

सोसिडाडविरुद्ध मेस्सीलाई खेलाउने वा नखेलाउने भन्ने कुराको टुंगो सो खेलअघि पहिलो दिनको प्रशिक्षणमा मेस्सी सामेल हुन्छन् वा हुँदैनन् र भए पनि उनले प्रशिक्षण कसरी पूरा गर्छन् भन्ने कुराले तय गर्नेछ । यदि मेस्सीले पूर्ण रूपमा फिट अनुभूत नगरे सोसिडाडविरुद्ध बार्सिलोना मेस्सीबिनै हुने सम्भावना देखिएको छ ।

प्रकाशित मिति २७ पुष २०७७, सोमबार ०३:४६
Loading...