‘बार्सिलोना अब अघि बढ्यो, कसैले रोक्न सक्दैन’

एजेन्सी, पुस २६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका खेलाडीहरूले आफूहरू अब सिजनकै उत्कृष्ट लयमा फर्किएको दाबी गरेका छन् । गत राति ला लिगामा ग्रानाडालाई उसकै घरेलु मैदानमा ०–४ ले हराएपछि फरवार्ड एन्टोनी ग्रीजम्यान र फ्रेन्की डे जोङले मिडियासँग प्रतिक्रिया दिनेक्रममा यस्तो दाबी गरेका छन् । ग्रानाडाको घरमा बार्सिलोनालाई शानदार जिताउन फ्रेन्च फरवार्ड ग्रीजम्यानले २ गोल गरेका थिए । यता, पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका डच मिडफिल्डरले पनि टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएका थिए ।

पछिल्ला खेलबाट बार्सिलोना अब सही दिशा र बाटोमा फर्किएको भन्दै ग्रीजम्यानले उपाधि होडमा रहेका अन्य टिमलाई घुमाउरो पारामा चेतावनी दिए । ‘आज टिमका रूपमा हामीले राम्रो खेल्यौं । यो एक उत्कृष्ट खेल र उत्साहजनक नतिजा हो,’ ग्रीजम्यानले भने, ‘मैले टिमका लागि २ गोल र लियोको गोलमा असिस्ट गर्न पाउँदा खुसी छु । टिमलाई सघाउन पाउँदा म सधैं खुसी हुन्छु ।’

उपाधि होडबारे सोधिएको प्रश्नमा ग्रीजम्यानले भने, ‘हामी जस्तो खेल्न चाहन्थ्यौं, अहिले त्यो स्तरको प्रदर्शन भइरहेको छ । मेरो विचारमा हामी अब सिजनकै सर्वोत्कृष्ट लयमा फर्किएका छौं । हामी जुन दिशा र बाटोमा छौं, त्यो सही छ । अब हामी हरेक खेलमा यस्तै प्रदर्शन गर्न चाहन्छौं । बार्सिलोना अब अघि बढ्यो, हामी सजिलै राकिनेवाला छैनौं ।’

यता, मिडफिल्डर डे जोङले आवश्यक परेका बेला बार्सिलोना उत्कृष्ट प्रदर्शनको स्तरमा फर्किनु अरूका लागि चुनौती रहेको बताए । ‘हामी लामो संघर्ष र दबाबपछि जितको उत्कृष्ट मार्गमा आइपुगेका छौं, यो अरूका लागि चुनौती हो,’ डे जोङले भने, ‘बार्सिलोना अब ला लिगा मात्रै हैन, हरेक प्रतियोगितामा उपाधिका लागि मुख्य दाबेदारीसाथ अघि बढ्नेछ । च्याम्पियन्स लिगमा फर्किनुअघि हामी ला लिगामा सहज अवस्थामा पुग्न चाहन्छौं ।’

डे जोङले बार्सिलोना ला लिगाको उपाधि होडमा यथावत रहेको बताए । ‘एथ्लेटिको मड्रिडभन्दा हामी अंकगणितका हिसाबले केही टाढा छौं । तर, व्यवहारिक रूपमा हामी उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्थितिमै छौं । अवश्य पनि, बार्सिलोनाले जित्न सकिँदैन भन्ने सोचेकै छैन,’ उनले थपे ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार १२:००
Loading...