हिउँ र आँधीका कारण एथ्लेटिको मड्रिड–बिल्बाओको खेल स्थगित

एजेन्सी, पुस २५
स्पेनिस ला लिगा फुटबलमा आज शनिबार रातिका लागि तया भएको एथ्लेटिक बिल्बाओ र एथ्लेटिको मड्रिडबीचको खेल स्थगित भएको छ । सो खेल एथ्लेटिको मड्रिडको घरेलु मैदानमा राति ९ बजेबाट हुने तय थियो । तर, मड्रिड सहरमा शुक्रबार रातिबाटै बाक्लो हिउँ र आँधी चलेपछि सो खेल खेलाउन नसकिएको हो ।

मड्रिड सहरमा शनिबार बिहानबाट हिँउको तह बढेपछि र मौसम सुधार नभएपछि एथ्लेटिको बिल्बाओको टोली मड्रिड सहरमा अवतरण हुन नसक्दा सो खल रद्द गर्नुपरेको हो । स्पेनिस मिडियाका अनुसार बिल्बाओको टोली बोकेको विमान पटक–पटक मड्रिडमा अवतरण हन प्रयास गरे पनि असफल भएपछि खेल स्थगित गरिएको हो ।

यता, मड्रिड सहरमा अहिले पनि लगातार हिउँ परिरहेको छ भने चिसो आँधी चलिरहेको छ । मड्रिड सहरमा हिउँका कारण यातायातका साधन राम्रोसँग चल्न सकेका छैनन् । ‘मार्का’का अनुसार एथ्लेटिकोको घरेलु रंगशाला वान्डो मेट्रापोलिटानो बाहिर र भित्र पनि हिउँको तहले ढाकेको छ । हिमपात रोकिने अवस्था नरहेपछि खेल नै रोक्नु परेको हो ।

स्थगित खेल अब कहिले खेलाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । हाल अंक तालिकामा एथ्लेटिको मड्रिड १५ खेलपछि ३८ अंकका साथ शीर्ष स्थानमा छ । आज राति दोस्रो स्थानको रियल मड्रिडले आफ्नो खेल जिते रियल शीर्ष स्थानमा चढ्नेछ । बिल्बाओ १८ खेलपछि २१ अंकका साथ नवौं स्थानमा छ ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार १६:१२
Loading...