युरोपियन गोल्डेन बुटमा लेवान्डोस्की र रोनाल्डोबीच प्रतिस्पर्धा : यस्तो छ ताजा स्थिति

काठमाडौं, पुस २५
जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्कीले जारी सिजन घरेलु लिगमा २० गोलको आँकडा पूरा गरेका छन् । गत राति उनले मोन्चेङ्लाडवाचविरुद्ध १ गोल गर्दै यो सिजनका २०औं गोल पूरा गरेका हुन् । भलै, सो खेलमा बार्यन अवे मैदानमा ३–२ ले हारेको थियो ।

यससँगै पोलिस फरवार्ड लेवान्डोस्की यो सिजन टप–५ लिगमा २० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले बुन्डेसलिगामा मात्रै १४ खेलबाट २० गोल गरेका हुन् । बुन्डेसलिगामा उनीपछि दोस्रो सर्वाधिक गोलकर्ता अर्लिङ हल्यान्ड छन्, जसले ९ खेलबाट १० गोल गरेका छन् । हालकै स्थितिमा लेवान्डोस्की हल्यान्डभन्दा ठीक दोब्बरले अघि छन् ।

यता, युरोपका शीर्ष लिगमा लेवान्डोस्कीपछि दोस्रो सर्वाधिक गोलकर्तामा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । उनले हालम्म लिगमा १२ खेलबाट १४ गोल गरेका छन् । युरोपियन गोल्डेन बुुुुुुुुुुुुुुुुुुट दौडमा अहिले लेवान्डोस्की २० गोलसहित सबैभन्दा अगाडि हुँदा रोनाल्डो १४ गोलसहित उनलाई पिछा गरिरहेका छन् । लेवान्डोस्की ३२ वर्षका र रोनाल्डो ३६ वर्षका खेलाडी हुन् ।

लेवान्डोस्की र रोनाल्डोपछि तेस्रो स्थानमा इंग्लिस क्लब लिभरपुलका मोहमद सालाह रहेका छन् । उनले १३ गोल गरेका छन् । त्यसपछि चौथो स्थानमा इटालियन इन्टर मिलानका रोमेलु लुकाकु रहेका छन्, उनले १२ गोल गरेका छन् ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार ०९:२८
Loading...