मेस्सी अर्को नयाँ कीर्तिमान नजिक

एजेन्सी, पुस २४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सी अर्को नयाँ कीर्तिमान नजिक पुगेका छन् । उनी बार्सिलोनाको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्न अब धेरै टाढा छैनन् । १७ वर्षदेखि बार्सिलोनामा रहँदै आएका मेस्सीले हालसम्म यस क्लबका लागि सबैखाले प्रतियोगिताबाट कूल ७५१ खेल खेलिसकेका छन् ।

बार्सिलोनाको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको रेकर्ड पूर्वकप्तान तथा लिजेन्ड खेलाडी जाभीका नाममा छ । उनले आफ्नो करिअर दौरान बार्सिलोनाका लागि कूल ७६७ खेल खेलेका थिए । त्यसपछि दोस्रो स्थानमा मेस्सी छन् । मेस्सीलाई अब जाभीको सर्वाधिक खेल संख्यासँग बराबरी गर्न १६ खेल र जाभीलाई उछिन्नका लागि १७ खेल आवश्यक छ ।

यो सिजनको अन्त्यसपछि बार्सिलोना छाड्ने तयारीमा रहेका मेस्सीले यसै सिजनभित्रमा सो रेकर्ड बनाउने पक्का छ । उनी आगामी १७ खेलमा सहभागी भए बार्सिलोनाको इतिहासमा उनी सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । मेस्सी हालकै स्थितिमा क्लबका लागि सबैभनदा धेरै गोल गर्ने र असिस्ट गर्ने खेलाडी पनि हुन् ।

बार्सिलोनाका लागि सर्वाधिक खेल्ने खेलाडी:

जाभी हर्नान्डेज – ७६७ खेल
लिओनल मेस्सी – ७५१ खेल
आन्द्रेज इनिएस्टा – ६७४ खेल
सर्जियो बुस्केट्स – ५९९ खेल
कार्लेस पुयोल – ५९३ खेल

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार ११:२१
Loading...