बिल्बाओलाई हराएपछि कोम्यान मक्ख : यसरी गरे खेलाडीको प्रशंसा

एजेन्सी, पुस २३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना खेलाडीको प्रशंसा गरेका छन् । गत राति ला लिगामा एथ्लेटिक बिल्बाओलाई उसकै घरेलु मैदानमा २–३ ले हराएपछि डच म्यानेजरले मिडियासँग प्रतिक्रिया दिए । सोक्रममा उनले आफ्नो टिमले सान मामेजमा उत्कृष्ट खेलेको मात्रै बताएनन्, बिल्बाओविरुद्ध आफ्नो टिमले यो सिजनकै बेस्ट खेल खेलेको पनि बताए ।

खेलको तेस्रो मिनेटमै गोल खाए पनि बार्सिलोनालाई कमब्याक जित दिलाउनेत्रममा पेड्री १ र कप्तान मेस्सीले २ गोल गरेका थिए । सो खेलमा पेड्री, मेस्सी र फ्रेन्की डे जोङले उत्कृष्ट प्रदर्शन गरेर टिमलाई जितको हकदार बनाएका थिए । सो जितपछि बार्सिलोना छैटौं स्थानबाट एकैपटक लिगको तेस्रो स्थानमा चढेको छ ।

‘आज सिंगो टिमले धेरै राम्रो खेल्यो । मेरो नजरमा हामीले यो सिजनकै सबैभन्दा उत्कृष्ट र पूर्ण खेल खेल्यौं । हामीले २ गोल खायौं तर म यो खेल र नतिजाबाट ज्यादै खुसी छु । किनभने, टिमले पछि परेको अवस्थामा एकताबद्ध भएर खेलमा फर्किन तारिफयोग्य मेहनत देखायो,’ कोम्यानले भने, ‘हामीले आगामी खेलहरूमा पनि यो स्तरको खेल खेल्नु आवश्यक छ ।’

कोम्यानले मेस्सी र पेड्रीको प्रशंसा गर्न भुलेनन् । पेड्री युवा भए पनि उनले एकदमै परिपक्व र अनुभवी खेलाडीको जस्तो प्रदर्शन गरेको भन्दै कोम्यानले तारिफ गरे । ‘पेड्रीले आज धेरै राम्रो खेले । युवा खेलाडी भएर पनि उनले लामो समयदेखि खेल्दै आएको जस्तो अनुभवी खेलाडीको स्तरको प्रदर्शन गरे । उनमा खास क्षमता छ, जुन बार्सिलोनालाई चाहिन्छ,’ कोम्यानले भने, ‘मेस्सी र पेड्रीको तालमेल र सम्पर्क निकै राम्रो देखियो । टिमका लागि यो धेरै राम्रो हो । यसले आगामी खेलको तयारी गर्न मदत गर्छ छ ।’

कोम्यानले मेस्सीले अब आफ्नो स्तरमा प्रदर्शन गर्ने भन्दै खुसी व्यक्त गरे । ‘आज हामीले यसरी जित्नुको पछाडि मेस्सी प्रमुख कारण हुन् । उनले आज धेरै राम्रो गरे । मलाई लाग्छ, उनी अब आफ्नो स्तरमा फर्किंदैछन्, यो टिमका लागि राम्रो कुरा हो,’ कोम्यानले भने ।

उपाधि होडबारे पनि कोम्यानले धारणा राखे । उनले अझै बार्सिलोना अझै उपाधि होडमा खुला रहेको बताए । ‘आज हामीले एक पूर्ण खेल खेल्यौं । र, ३ अंक जोड्यौं । हामीले अझै लिग जित्ने सम्भावना छ । किनभने, अझै थुप्रै खेल बाँकी छन् । र, बाँकी खेलमा के हुन्छ, अनुमान गर्न सकिँदैन,’ कोम्यानले भने, ‘बार्सिलोना अन्तिम खेलसम्म प्रतिस्पर्धा गर्नेछ ।’

बिल्बाओलाई हराएपछि बार्सिलोना लिगको तेस्रो स्थानमा चढेको छ । उसले १७ खेलबाट ३१ अंक जोडेको छ । तर, बार्सिलोना अझै पनि दुई खेल कम खेलेको एथ्लेटिको मड्रिडभन्दा ७ अंकले पछि छ भने समान खेल खेलेको दोस्रो स्थानको रियल मड्रिडभन्दा ५ अंकले पछि छ । यदि एथ्लेटिकोले बाँकी दुवै खेल जिते बार्सिलोना समान खेलपछि १३ अंकले पछि पर्नेछ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०६:०३
Loading...