मिलानविरुद्ध खेल्दा रोनाल्डोलाई ‘फुटबल इतिहासकै सबैभन्दा ठूलो’ रेकर्ड तोड्ने मौका

काठमाडौं, पुस २२
इटालियन सिरी ए लिग फुटबलमा आज राति साबिक च्याम्पियन युभेन्टस र यस सिजनको लिग लिडर एसी मिलानबीच खेल हुँदैछ । मिलानको घरेलु मैदानमा राति १ः३० बजेबाट सुरु हुने यो खेल युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि ऐतिहासिक र विशेष हुने अवसर छ ।

आज राति मिलानविरुद्ध पोर्चुगिज फरवार्ड रोनाल्डोले कम्तीमा १ गोल गरे फुटबल इतिहासमा रहेको सर्वाधिक अफिसियल गोलको रेकर्ड बराबरी गर्नेछन् । यदि २ गोल गरे रेकर्ड भंग गर्नेछन् । यदि रोनाल्डो गोलविहीन बने उनले आगामी खेल पर्खिनुपर्ने हुन्छ ।

फुटबल इतिहासमा सबैभन्दा धेरै अफिसियल गोल गर्ने खेलाडीको रेकर्ड अस्ट्रिया तथा चेकोस्लोभाकका महान् जोसेफ बिकानका नाममा छ । दिवंगत खेलाडी उनले आफ्नो करिअर दौरान कूल ७५९ अफिसियल गोल गरेका थिए, जुन आजसम्म पनि दुर्लभ रेकर्डका रूपमा रहेको छ ।

सन् १९१३ मा जन्मिएका बिकानको सन् २००१ मा निधन भएको थियो । उनले आफ्नो फुटबल करिअरमा ७५९ गोल अफिसियल गोल गरेका थिए । अब उनको रेकर्डसँग बराबरी गर्न रोनाल्डो १ गोल र तोड्नबाट २ गोलले टाढा छन् । रोनाल्डोले दुई दिनअघि लिगमै उडिनेसविरुद्ध २ गोल गर्दै दोस्रो स्थानमा रहेका महान् ब्राजिलियन पेलेलाई पछि परेका थिए ।

सो खेलअघि बिकान ७५९ गोलसहित पहिलो स्थानमा रहँदा पेले ७५७ गोलसहित दोस्रोमा थिए भने रोनाल्डो ७५६ गोलसहति तेस्रोमा थिए । नयाँ वर्ष २०२१ को पहिलो खेलमा उडिनेसविरुद्ध २ गोल गर्दै रोनाल्डोले पेलेको गोल संख्यालाई उछिनेर दोस्रो स्थानमा चढेका थिए । हाल बिकान पहिलो, रोनाल्डो दोस्रोमा र पेले तेस्रो स्थानमा छन् ।

फुटबल इतिहासका सर्वाधिक अफिसियल गोलकर्ता खेलाडी

जोसेफ बिकान – ७५९
क्रिस्टियानो रोनाल्डो – ७५८
पेले – ७५७

जारी सिजन रोनाल्डो उत्कृष्ट लयमा छन् । उनले समग्रमा युभेन्टसका लागि १५ खेलबाट १८ गोल र ४ असिस्ट गरेका छन् । उनले सिरी ए लिगमा ११ खेलबाट १४ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ४ खेलबाट ४ गोल नै गरेका छन् । आज राति मिलानविरुद्ध उनले गोल गरेर अझै उत्कृष्ट लय समात्न प्रयास गर्नेछन् ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार १४:३५
Loading...