हेभिवेट भिडन्त : यस्तो हुनेछ एसी मिलान र युभेन्टसको प्लेइङ–११

काठमाडौं, पुस २२
इटालियन सिरी ए लिग फुटबलमा आज राति सिजनकै एक ठूलो भिडन्त हुँदैछ । सिजनको पहिलो लेगको खेलमा हालको लिग लिडर एसी मिलान र साबिक च्याम्पियन युभेन्टसको रोमाञ्चक खेल हुन लागेको हो । यो खेल मिलानको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

मिलानको घरमा यो खेल हुँदा युभेन्टस र मिलान दुवैलाई प्रमुख खेलाडीको चोट, प्रतिबन्ध र कोभिड–१९ ले समस्या पार्ने भएको छ । सो खेल दुवै टिमका केही प्रमुख खेलाडीले गुमाउने भएका छन् । युभेन्टसका प्रमुख डिफेन्डर एलेक्स सान्ड्रो र फरवार्ड अल्भारो मोराटा दुवै आज राति हुनेछैनन् । मोराटा घाइते छन् भने ब्राजिलियन डिफेन्डर सान्ड्रो कोरोना भाइरसबाट संक्रमित भएका छन् । सान्ड्रोले पछिल्लोपटक उडिनेसविरुद्ध खेलेका थिए ।

प्रतिबन्धमुक्त भए पनि अर्का डिफेन्डर जुआन काउडराडोले पनि यो खेल गुमाउनेछन् । उनी एक दिनअघि मात्रै कोभिड–१९ बाट संक्रमित भएकाले टोलीमै छैनन् । आजको खेलमा उनको स्टाथमा युवा डिफेन्डर मेरिह डेमिराल हुनेछन् । मिडफिल्डर आड्रेन राबिओट भने प्रतिबन्धमुक्त हुँदै मिलानविरुद्धको खेलबाट टोलीमा फर्किने तयारीमा छन् ।

यता, एसी मिलानका प्रमुख फरवार्ड ज्लाटन इब्राहिमोभिचले युभेन्टसविरुद्धको खेल गुमाउने करिब–करिब पक्का छ । उनी महिनादिनबाटै चोटका कारण टोलीबाहिर छन् । त्यसैगरी, इस्माएल बेनासेर, माटेओ गाबिबा र एलेक्सिस सालेमेकर्सले पनि युभेन्टसविरुद्धको खेल गुमाउनेछन् । यता, अर्का खेलाडी सान्ड्रो टोनालीले पछिल्लो खेलमा पाएको रातो कार्डका कारण आज राति टोलीमा हुनेछैनन् ।

हाल अंक तालिकामा मिलान १५ खेलपछि ३७ अंकका साथ शीर्ष स्थानमा छ । युभेन्टस १४ खेलबाट २७ अंक बनाएर पाँचौंमा छ । युभेन्टस मिलानभन्दा १० अंकले पछि छ । तर, उसले थप एक खेल खेल्नै बाँकी छ । यदि आज युभेन्टसले सान सिरोमा मिलानलाई हरायो र नापोलीसँग बाँकी रहेको एक खेल पनि जिते उसले लिग लिडर मिलानसँगको अंक दूरी १० बाट छोट्याएर ४ मा झार्नेछ ।

आज राति युभेन्टसका क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले सुरुआतबाटै फ्रन्ट लाइन सम्हाल्नेछन् । मिडफिल्डबाट आरोन राम्से र फेडरिको किइजाले सघाउनेछन् । रोनाल्डो जारी सिजन उत्कृष्ट लयमा छन् । उनले हालसम्म ११ खेलबाट १४ गोल र ३ असिस्ट पूरा गरेका छन् । आज रातिको खेलमा युभेन्टसलाई रोनाल्डो र डिबालाको उत्कृष्ट प्रदर्शनको आवश्यकता पर्नेछ । यी दुवैले पछिल्लो खेलमा गोल गरेका थिए । युभेन्सट आज जारी सिजन युरोपको एक मात्रै अपराजित टिम मिलानको शानदार यात्रा उसकै घरमा टुंग्याउने दाउमा छ ।

AC Milan possible starting lineup:
Donnarumma; Calabria, Kjaer, Romagnoli, Hernandez; Krunic, Kessie; Castillejo, Calhanoglu, Leao; Rebic

Juventus possible starting lineup:
Szczesny; Danilo, Bonucci, de Ligt, Demiral; McKennie, Bentancur, Ramsey, Chiesa; Dybala, Ronaldo

 

प्रकाशित मिति २२ पुष २०७७, बुधबार १०:४६
Loading...