‘रोनाल्डो र मेस्सीको स्तरमा पुग्न केन रियल मड्रिड जानुपर्छ’

एजेन्सी, पुस २१
इंग्लिस क्लब टोटनह्यामका स्टार फरवार्ड ह्यारी केनले करिअरमा ठूला उपाधि र व्यक्तिगत अवार्ड जित्न टोटनह्याम छाड्नुपर्ने राय इंग्लिस कोच तथा पूर्वखेलाडी जोनाथन उडगेटले राखेका छन् । उनले आफ्नो देशको राष्ट्रिय टिमका कप्तानलाई टोटनह्याम छाडेर स्पेनिस क्लब रियल मड्रिड जान सुझाव दिएका छन् । टोटनह्याममै बसेर केनले उपाधि र अवार्ड जित्न कठिन हुने उडगेटले बताएका छन् ।

केन लामो समयदेखि टोटनह्याममा छन् । सो क्लबका लागि उनले सबैखाले प्रतियोगिताबाट ३११ खेल खेल्दै २०५ गोल गरेका छन् । इंग्ल्यान्डका कप्तानसमेत रहेका केनले चाँडै २८औं जन्मदिन मनाउँदैछन् । जारी सिजन शानदार लयमा रहेका केनले टोटनह्यामका लागि सबैखाले प्रतियोगितामा २४ खेलबाट १७ गोल गर्दै ११ असिस्ट गरेका छन् ।

जोनाथनले केनको तुलना इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी गरेका छन् । केन रोनाल्डो र मेस्सीकै स्तरको खेलाडी भए पनि सही क्लबमा नरहँदा उनले ठूला उपाधि र अवार्ड जित्न नसकेको बताएका छन् । जोनाथनले केनलाई रियल मड्रिड गए धेरै कुरा जित्न सक्ने बताएका छन् ।

‘यदि केन उपाधि र अवार्ड जितेर रोनाल्डो र मेस्सीकै स्तरमा पुग्न चाहन्छन् भने उनी अन्तै जानुपर्छ । उनले टोटनह्यामसँग यो सिजन वा अन्य केही सिजनमा पनि प्रिमियर लिग जित्ने सम्भावना म देख्दिनँ । टोटनह्याम लिग र अन्य उपाधि जित्न चाहन्छ भने म्यानचेस्टर सिटी र लिभरपुलले जस्तो टिमलाई बनाउन सक्नुपर्छ,’ जोनाथनले भने, ‘केन रोनाल्डो र मेस्सीकै स्तरका खेलाडी हुन्, यसमा शंका छैन ।’

केन रियल मड्रिड गए उनले त्यहाँबाट च्याम्पियन्स लिग जित्न सक्ने जोनाथन बताउँछन् । ‘केन युरोपियन च्याम्पियन बन्न चाहन्छन् । यो जब सम्भव हुन्छ, तब उनी रियल मड्रिड जान्छन्,’ जोनाथनले भने, ‘यदि मड्रिडबाट कुनै अफर आउँछ भने उनी आँखा चिम्लेर जान तयार हुनुपर्छ । उनका लागि त्यो सबैभन्दा सही क्लब हो ।’

प्रकाशित मिति २१ पुष २०७७, मंगलवार १२:२९
Loading...