एसी मिलान भर्सेस युभेन्टस : दुवै टिमका प्रमुख खेलाडीलाई चोट, कोरोना र प्रतिबन्धले तनाव

काठमाडौं, पुस २१
बुधबार राति इटालियन सिरी ए लिग फुटबलमा लिग लिडर एसी मिलान र युभेन्टस सिजनको पहिलो लेगको खेल खेल्न आमनेसामने हुँदैछन् । मिलानको घरमा सो खेल हुँदा युभेन्टस र मिलान दुवैलाई प्रमुख खेलाडीको चोट र प्रतिबन्धले समस्या पार्ने भएको छ । सो खेलको मुखमा दुवै टिमका केही प्रमुख खेलाडी खेल्न नसक्ने अवस्थामा छन् ।

युभेन्टसका प्रमुख डिफेन्डर एलेक्स सान्ड्रो र फरवार्ड अल्भारो मोराटा दुवैले मिलानविरुद्ध खेल्नेछैनन् । मोराटा घाइते छन् भने ब्राजिलियन डिफेन्डर सान्ड्रो कोरोना भाइरसबाट संक्रमित भएका छन् । सान्ड्रो पछिल्लोपटक उडिनेसविरुद्ध ८३ मिनेटसम्म खेलेका थिए ।

स्पेनिस फरवार्ड मोराटाले मांशपेसीमा परेको चोटका कारण यसअघिकै खेल गुमाइसकेका छन् । उनले अझै २ देखि ३ खेलसम्म गुमाउनेछन् । यसअघि प्रशिक्षक पिर्लोले मिलानविरुद्ध मोराटा खेल्न उपलब्ध हुने बताए पनि त्यो सम्भावना कम देखिएको छ । मोराटा जारी सिजन युभेन्टसका क्रिस्टियानो रोनाल्डोपछि दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनले हालसम्म १७ खेलबाट १० गोल गरेका छन् ।

यता, एसी मिलानका प्रमुख फरवार्ड ज्लाटन इब्राहिमोभिचले युभेन्टसविरुद्धको खेल गुमाउने सम्भावना प्रबल छ । उनी महिनादिनबाटै चोटका कारण टोलीबाहिर छन् । त्यसैगरी, इस्माएल बेनासेर, माटेओ गाबिबा र एलेक्सिस सालेमेकर्सले पनि युभेन्टसविरुद्धको खेल गुमाउनेछन् । यता, अर्का खेलाडी सान्ड्रो टोनालीले पछिल्लो खेलमा पाएको रातो कार्डका कारण युभेन्टससँगको खेल खेल्न पाउनेछैनन् ।

यता, युभेन्टसका डिफेन्डर जुआन काउडराडो र मिडफिल्डर आड्रेन राबिओट भने प्रतिबन्धमुक्त हुँदै मिलानविरुद्धको खेलबाट टोलीमा फर्किनेछन् । काउडराडो उपलब्ध हुँदा मिलानविरुद्ध युभेन्टसलाई ठूलो राहत मिल्नेछ ।

हाल अंक तालिकामा मिलान १५ खेलपछि ३७ अंकका साथ शीर्ष स्थानमा छ । युभेन्टस भने १४ खेलबाट २७ अंकका साथ पाँचौं स्थानमा छ । ताजा स्थितिमा युभेन्टस मिलानभन्दा १० अंकले पछि छ । तर, उसले एक खेल कम खेलेको छ । यदि युभेन्टसले सान सिरोमा मिलानलाई पराजित गर्न सक्यो र नापोलीसँग बाँकी रहेको एक खेल पनि जित्न उसले उसले लिग लिडर मिलानसँगको अंक दूरी १० बाट ४ मा झार्नेछ ।

युभेन्टस मिलानको घरमा उत्रिँदा चर्को दबाबमा हुनेछ । उपाधि होडमा अघि बढ्न र मिलानसँगको अंक दूरी छोट्याउन उसका लागि सान सिरोमा स्पष्ट जित आवश्यक पर्नेछ । सो खेलका लागि युभेन्टसले उच्च सावधानीसाथ खेल्ने प्रशिक्षक पिर्लोले यसअघि उडिनेससँगको खेलपछि बताएका थिए ।

प्रकाशित मिति २१ पुष २०७७, मंगलवार ०९:५९
Loading...