बार्सिलोनामा मेस्सी संघर्ष गर्दै, एथ्लेटिकोमा स्वारेज चम्किँदै : हेरौं तथ्यांक

काठमाडौं, पुस २०
गत समर सिजनमा स्पेनिस क्लब बार्सिलोना छाडेर फ्री ट्रान्सफरमा एथ्लेटिको मड्रिड गएका फरवार्ड लुइस स्वारेज उत्कृष्ट लयमा देखिएका छन् । उनले सुरुआतबाटै नयाँ क्लबमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । ३३ वर्षीय उरुग्वेन फरवार्ड ताजा स्थितिमा संयुक्त रूपमा ला लिगाको सर्वाधिक गोलकर्ता छन् ।

ठीक यता, बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सी भने यो सिजनको सुरुआतबाटै संघर्ष गरिरहेका छन् । मेस्सीले आफ्नो स्तरमा प्रदर्शन गर्न नसक्दा टिम बार्सिलोना पनि सुरुआतबाटै संघर्ष गरिरहेको छ । हाल स्वारेजको टिम एथ्लेटिको ला लिगामा शीर्ष स्थानमा छ भने मेस्सीको टिम पाँचौं स्थानमा छ ।

प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेज आफ्नो योजनामा नरहने भनेपछि क्लबले उनलाई सरुवा फि नलिई एथ्लेटिको पठाएको थियो । तर, स्वारेज हिँडेपछि बार्सिलोनामा उनको अभाव स्पष्ट रूपमा खड्किएको छ भने एथ्लेटिकोमा स्वारेजले टिमलाई अघि बढाइरहेका छन् ।

बार्सिलोनामा छँदा स्वारेज र मेस्सी टिमका लागि गोल गर्ने प्रमुख खेलाडी थिए । उनीहरूबीच मैदानमा शानदार साझेदारी थियो, असिस्टमा पनि उत्कृष्ट तालमेल गर्दै आएका थिए । बार्सिलोनाले गर्ने कूल गोलमा स्वारेज र मेस्सीको मात्रै ८५ प्रतिशतभन्दा बढी योगदान रहन्थ्यो । तर, अहिले स्वारेज र मेस्सीको साझेदारी छुटेपछि बार्सिलोना र मेस्सीलाई समस्या बढेको छ । यता, स्वारेज भने बार्सिलोनामा ठीकठाक देखिएका छन् ।

यो सिजन यहाँसम्म आइपुग्दा मेस्सी र स्वारेजको व्यक्तिगत तथ्यांक तुलना गर्ने हो भने स्वारजेको अवस्था राम्रो छ । खास गरी घरेलु लिग ला लिगामा मेस्सीको तथ्यांक कमजोर छ भने स्वारेजको शानदार छ । ला लिगामा स्वारेजले मेस्सीको भन्दा थोरै खेलबाट धेरै गोल गरेका छन् ।

तर, च्याम्पियन्स लिगमा ४ खेल खेल्दा स्वारेज गोलविहीन बन्दा मेस्सीले ३ गोल गोल गरेका छन् । तर, मेस्सीले सबै गोल पेनाल्टीमार्फत् गरेका छन् । यता, स्वारेजले भने एथ्लेटिकोमा गरेका सबै गोल ओपन एरियाबाट गरेका छन् । उनले गरेमध्ये १ गोल पनि पेनाल्टी गोल छैन । यहाँ नयाँ सिजन २०२०–२१ सुरु भइकन क्लब फुटबलमा मेस्सी र स्वारेजको हालसम्मको तथ्यांक तुलना गरिएको छ–

ला लिगातर्फ

मेस्सी – १५ खेलबाट ७ गोल र २ असिस्ट
स्वारेज – १२ खेलबाट ९ गोल र २ असिस्ट
मेस्सी पेनाल्टी गोल – ७ गोलमध्ये २ गोल पेनाल्टीमार्फत्
स्वारेज पेनाल्टी गोल – ०

च्याम्पियन्स लिगतर्फ

मेस्सी – ४ खेलबाट ३ गोल (सबै गोल पेनाल्टीमार्फत्)
स्वारेज – ४ खेलबाट ० गोल, १ असिस्ट

समग्र तथ्यांक

मेस्सी – १९ खेलबाट १० गोल र २ असिस्ट
स्वारेज – १६ खेलबाट ९ गोल र ३ असिस्ट
मेस्सी पेनाल्टी – १० खेलमध्ये ५ गोल पेनाल्टीमार्फत्
स्वारेज पेनाल्टी – ० गोल
मेस्सी कूल पेनाल्टी प्रहार – ६ (५ गोल, एक मिस)
स्वारेज कूल पेनाल्टी प्रहार – ०

प्रकाशित मिति २० पुष २०७७, सोमबार १२:३५
Loading...