रोनाल्डोले तोडे महान् पेलेको रेकर्ड : अर्को रेकर्ड पनि नजिक

काठमाडौं, पुस २०
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिसिटयानो रोनाल्डोले महान् फुटबल खेलाडी ब्राजिलियन पेलेका नाममा रहेको एक रेकर्ड भंग गरेका छन् । गत राति युभेन्टसले सिरी ए लिगमा नयाँ वर्ष २०२१ को पहिलो खेल उडिनेसविरुद्ध खेल्नेक्रममा रोनाल्डोले २ गोल गरेका थिए । अवे मैदानमा भएको सो खेलमा रोनाल्डोले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदशर्शन गर्दै २ गोल र १ असिस्टका साथ टिमको ४–१ को जितमा सघाएका थिए ।

सो खेलमा गरेको २ गोलसँगै रोनाल्डोले पेलेका नाममा रहेको दोस्रो सर्वाधिक अफिसियल गोलको रेकर्ड भंग गरेका हुन् । पेलले आफ्नो करिअर दौरान सबैखाले प्रतियोगिताबाट कूल ७५७ अफिसियल गोल गरेका थिए, जुन फुटबल इतिहासकै दोस्रो बढी थियो । गत रातिको २ गोलपछि रोनाल्डोको कूल अफिसियल गोल संख्या ७५८ पुगेको छ, जुन पेलेको भन्दा १ ले बढी हो ।

गत गत रातिको खेलअघि रोनाल्डोलाई पेलेको रेकर्ड बराबरी गर्न १ गोल र तोड्न २ गोल आवश्यक थियो । उनले खेलको ३१औं मिनेटमा बक्स भित्रबाट गरेको दर्शनीय गोलले पेलेको रेकर्ड बराबरी गर्दा ७०औं मिनेटमा गरेको अर्को गोलले रेकर्ड भंग गरेको थियो ।

फुटबल इतिहासमै सबैभन्दा धेरै अफिसियल गोलकर्ताको रेकर्ड अस्ट्रियन–चेक खेलाडी जोसेफ बिकानका नाममा छ । उनले आफ्नो करिअर दोरान कूल ७५९ अफिसियल गोल गरेका थिए । रोनाल्डो अब उनको सो रेकर्ड बराबरी गर्न १ गोल र तोड्नबाट २ गोलले टाढा छन् ।

युभेन्टसले अब बुधबार सिरी ए लिगमा अवे मैदानमा लिग लिडर एसी मिलानसँग खेल्दै छ । सो खेलमा रोनाल्डोले १ गोल गरे बिकानको रेकर्ड बराबरी गर्नछन् भने २ गोल गरे भंग गर्नेछन् । त्यसपछि रोनाल्डो फुटबल इतिहासमै सबैभन्दा धेरै अफिसियल गोल गर्ने खेलाडी बन्नेछन् ।

गत रातिको २ गोल र १ असिस्टले रोनाल्डो खेलको म्यान अफ् द म्याच घोषित भएका थिए । नयाँ वर्षको पहिलो खेलबाट शानदार सुरुआत गरेका रोनाल्डोले यो सिजन लिगमा मात्रै ११ खेलबाट १४ गोल र ३ असिस्ट गरिसकेका छन् । उनी लिगका सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । यो सिजन उनले समग्रमा १५ खेलबाट १८ गोल र ४ असिस्ट गरिसकेका छन् ।

प्रकाशित मिति २० पुष २०७७, सोमबार ०३:००
Loading...