बार्सिलोनाको संघर्ष उस्तै : २०औं स्थानको टिममाथि साँघुरो जित

काठमाडौं, पुस २०
स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ वर्ष २०२१ को पहिलो खेलमा साँघुरो जित निकालेको छ । ला लिगाअन्तर्गत सोमबार बिहान भएको लिगको १६औं साताको खेलमा बार्सिलोनाले लिगको सबैभन्दा पुछार २०औं स्थानको हुएस्कामाथि ०–१ को साँघुरो जित निकालेको हो । हुएस्काको घरमा बार्सिलोनालाई यो जित सुरक्षित गर्न पनि ठूलो संघर्ष गर्नुपरेको थियो ।

कप्तान लिओनल मेस्सीसहितका खेलाडी लिएर उत्रिएको बार्सिलोनाले खेलभरि कूल ७९३ सफल पास खेल्यो । उसले २० पटक गोलका लागि आक्रमण गर्दा ७ पटक अन टार्गेट हान्यो । तैपनि, बार्सिलोनाले दोस्रो गोल निकाल्न सकेन । र, खेलको २७औं मिनेटमा फ्रेन्की डो जोङले गरेको १ मात्रै गोलको मदतमा खेल जित्यो ।

कप्तान मेस्सीको पासमा डे जोङले गोल गरेका थिए । सो गोलमा मेस्सीले गरेको असिस्ट यो सिजनको दोस्रो थियो, सबैखाले प्रतियोगितामा । पहिलो गोल गरेपछि बार्सिलोनाले लगातार गोलका लागि प्रयास गरे पनि फिनिसिङमा चुक्दा उसले दोस्रो गोल निकाल्न सकेन । बार्सिलोनाका मेस्सी, पेड्री, मार्टिन ब्रेथवेटले गरेर कम्तीमा ५ अवसर खेर फालेका थिए । मेस्सीको एक शक्तिशाली फ्रि किक प्रहार हुएस्काका गोलकिपरले बचाएका थिए ।

हुएस्काले बार्सिलोनाविरुद्ध उत्कृष्ट खेलेको थियो । तर, उसका खेलाडी फिनिसिङमा चुक्दा बार्सिलोनाको जित सुरक्षित भएको हो । हुएस्काले कूल ४ पटक आक्रमण गर्दा उसले सबै प्रहार अन टार्गेट हानेको थियो । तर, बार्सिलोनाका गोलकिपरले घरेलु टोलीलाई निराश पारिदिए ।

अब यो जितपछि बार्सिलोनाले नयाँ वर्षको पहिलो खेलबाट ३ अंक त जोडेको छ । तर, प्रदर्शनको स्तरमा खासै सुधार देखिएको छैन । उसले १६ खेलबाट २८ अंक बनाएर पाँचौं स्थानमा उक्लिएको छ । बार्सिलोना अझै एक खेल कम खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा १० अंकले पछि नै छ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार २१:५२
Loading...