नयाँ वर्षको पहिलो खेलमा रोनाल्डोको उच्च प्रदर्शन : युभेन्टसको शानदार जित

काठमाडौं, पुस २०
क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शनको मदतमा इटालियन क्लब युभेन्टसले नयाँ वर्ष २०२१ को पहिलो खेलमा प्रभावशाली जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको लिगको १४औं खेलमा युभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली उडिनेसलाई ४–१ ले निराश बनायो । एलिनाज रंगशालमा युभेन्टसलाई जिताउन रोनाल्डो नायक बने ।

जारी सिजन उच्च लयमा रहेका रोनाल्डोले नयाँ वर्षको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २ शानदार गोल र १ गोल शानदार असिस्ट प्रदान गरे । टिमका ४ गोलमध्ये ३ गोलमा रोनाल्डो प्रत्यक्ष सहभागी भए । यससँगै रोनाल्डोले जारी सिजन लिगमा गरेको कूल संख्या १४ पुगेको छ । उनी लिगका एक सर्वाधिक गोलकर्ता बनेका छन् ।

रोनाल्डोले पहिलो गोल खेलको ३१औं मिनेटमा बक्स भित्रबाट बुलेट सटमा गोल गरेका थिए । मैदानको माथिल्लो भागबाट आरोन राम्सेले दिएको पासमा रोनाल्डोले उडिनेसका डिफेन्डरका माझबाट हानेको शक्तिशाली प्रहार गोलकिपरले रोक्ने मौका नै पाएनन् ।

त्यसपछि युभेन्टसका लागि दोस्रो गोल खेलको ४९औं मिनेटमा फेडरिको किइजाले गरे । रोनाल्डोले मैदानको मध्यभागबाट दिएको लामो पासमा किइजनाले बल बक्सभित्रसम्म लगेर वान भर्सेस वानमा गोल गरेका थिए । रोनाल्डोले उडिनेसका खेलाडीको माझबाट छिराएको पास किइजाले उत्कृष्ट ढंगले नियन्त्रणमा लिएका थिए ।

त्यससपछि खेलको ७०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक रोड्रिगो बेन्टाकुरको पासमा रोनाल्डोले उडिनेसका गोलकिपरलाई बिट गर्दै बक्स लाइन नजिकैबाट शक्तिशाली प्रहारमा बललाई जाली चुमाएका थिए । त्यसपछि ९०औं मिनेटमा उडिनेसका लागि मार्भिन जिगेलारले गोल गरेर खेल ३–१ मा छोट्याए पनि थपिएको समयको तेस्रो मिनेटमा पाउलो डिबालाले ड्यानिलोको पासमा गोल गरेपछि खेल खेल युभेन्टसले ४–१ ले जित्यो ।

अब यो जितपछि युभेन्टस लिगका १४ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । ऊ अझै पनि एक खेल बढी खेलेको एसी मिलानभन्दा ठीक १० अंकले पछि छ । आगामी खेलमा मिलान र युभेन्टस भिड्नेछन् । यता, पराजित उडिनेस १४ खेलपछि १५ अंकका साथ ११३औं स्थानमा छ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार २१:४०
Loading...