बार्यन म्युनिखको स्टाइल : २ गोलको बदलामा ३३ मिनेटमा ५ गोल !

काठमाडौं, पुस १९
जर्मन क्लब बार्यन म्युनिखले नयाँ वर्ष २०२१ को पहिलो खेलमा रवाफपूर्ण कमब्याक जित निकालेको छ । आइतबार राति बुन्डेसलिगामा भएको खेलमा बार्यनले घरेलु मैदानमा ०–२ ले परेको स्थिति उल्टाएर ५–२ को जित निकाल्न सफल भयो ।

बार्यन आफ्नो घरेलु मैदानमा लिगको १७औं स्थानको पाहुना टोली मेन्जसँग ४४औं मिनेटमा पुग्दा ०–२ ले पछि परेको थियो । पहिलो हाफमा बार्यनको रक्षापंक्तिले गरेका गल्तीमा फाइदा उठाउँदै मेन्जले घरेलु टोलीविरुद्ध लगातार २ गोल गरेको थियो । तर, दोस्रो हाफमा बार्यनले खेलमा आँधी–तुफान नै ल्यायो ।

पहिलो हाफमा ०–२ गोलले पछि परेको बार्यनले दोस्रो हाफमा मात्रै ३३ मिनेटको बीचमा ५ गोल गरेर खेल ५–२ ले जित्यो । मेन्जका लागि ३२औं मिनेटमा जोनाथन बुर्काडले गोल गर्दा ४४औं मिनेटमा एलेक्सान्डर हाकले गोल गरेका थिए ।

तर, दोस्रो हाफमा बार्यनको वेग मेन्जले थेग्न सकेन । सो दौरान खेलको ५०औं मिनेटमा जोसुवा किमिचले पहिलो गोल गर्दा ५५औं मिनेटमा लिरोए सानेले दोस्रो गोल गरेर खेल बराबरी बनाएका थिए ।

त्यसपछि खेलको ७०औं मिनेटमा निकलास सुलेले गोल गर्दै बार्यनलाई ३–२ को अग्रतसाहित जितको बाटो देखाएका थिए । त्यसपछि रोवर्ट लेवान्डोस्कीको समय आयो । उनले ७६औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरे भने ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बार्यनले ५–२ ले जित्यो ।

अब यो जितपछि बार्यन १४ खेलबाट ३३ अंक बनाएर लिगको शीर्ष स्थानमा चढेको छ । समान खेल खेलेको आरबी लेइपजिग ३१ अंकसहित दोस्रो स्थानमा झरेको छ । पराजित मेन्ज ६ अंकसहित १७औं स्थानमा छ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १८:५६
Loading...