नयाँ वर्षको स्वागत : सिटीद्वारा चेल्सीको उसकै घरमा रामधुलाइ !

काठमाडौं, पुस १९
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जितका साथ नयाँ वर्ष २०२१ को स्वागत गरेको छ । आइतबार राति लिगकै एक बलियो टोली चेल्सीलाई सिटीले उसकै घरेलु मैदानमा १–३ को लज्जास्पद हार खुवाउँदै नयाँ वर्षको सुरुआत गरेको हो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भ्रमणकारी टोली सिटीको जितमा ३ जना खेलाडीले गोल गर्दा केभिन डे ब्रुयाने र फिल फोडेन दुवैले गोल र असिस्ट गरे । सिटीले खेलको १८औं मिनेटमा इकाए गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । उनले फोडेनको पासमा बक्स भित्रबाट चलाखीपूर्वक हानेको लो सटले सोझै जाली चुमेको थियो ।

त्यसपछि खेलको २१औं मिनेटमा सिटीका लागि पहिलो गोलमा असिस्ट दिएमा फोडेनले बडा सुन्दर गोल गरे । डे ब्रुयानेले माथिल्लो भागबाट दिएको पासमा फोडेनले लो भलीमा बललाई जाली चुमाएपछि सिटीले ०–२ को अग्रता बनायो ।

त्यसपछि सिटीले खेलको ३४औं मिनेटमै तेस्रो गोल हान्यो । यसपटक डे ब्रुयानेले क्लोज रेन्जबाट कडा सटमा प्रहार गर्दा चेल्सीका गोलकिपर मेन्डीले रोक्ने कुनै मौका नै पाएनन् । सो गोलपछि सिटीले पहिलो हाफमै ०–३ को सुविधाजनक अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा चेल्सीले खेलमा फर्किने ठूलै संघर्ष देखाइरहँदा खेलको इन्जुरी समयको दोस्रो मिनेटमा कालुम हुडसन ओडोईले गोल गरेपछि सिटीको ति १–३ मा खुम्चियो । अब यो जितपछि सिटी १५ खेलबाट २९ अंक जोड्दै पाँचौं स्थानमा चढेको छ । पराजित चेल्सी १७ खेलपछि २६ अंकका साथ आठौं स्थानमा झरेको छ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १८:२१
Loading...