प्रशिक्षकमा नियुक्त भएकै दिन पिएसजीका खेलाडीलाई पोचेटिनोको कडा चेतावनी !

एजेन्सी, पुस १९
फ्रेन्च क्लब पिएसजीका नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो नयाँ क्लबका खेलाडीलाई अनुशासन पूर्ण रूपमा पालना गर्न निर्देशन दिएका छन् । प्रशिक्षकमा नियुक्त भएकै दिन उनले मिडियासँगै कुरा गर्दै खेलाडीको अनुशासनसँग आफूले कुनै सम्झौता नगर्ने बताएका हुन् ।

पिएसजीका खेलाडी पटक–पटक अनुशासनको कारबाहीमा पर्दै आएका छन् । ब्राजिलियन नइमार, माउरो इकार्डी पछिल्लो समय क्लबको आन्तरिक कारबाहीमा परेका खेलाडी हुन् । नेइमारमाथि त गम्भीर अनुशासन उल्लंघन गरेको गरेको भन्दै गत वर्ष फुटबल संघले नै कडा कारबाही गरेको थियो ।

मिडियासँग कुरा गर्दै पोचेटिनोले आफ्नो कार्यकालमा फुटबलसँगै खेलाडीको अनुशासन, टिमभित्रको सम्बन्ध र सिंगो क्लब परिवारसँगको सद्भाव महत्त्वपूर्ण हुने बताए । आफूले खेलाडीको अनुशासनहीन कार्य र व्यवहार नसहने भन्दै चेतावनी दिए । ‘अनुशासन सधैं सबैभन्दा महत्त्वपूर्ण हुन्छ । आदर, आपसी सद्भाव खेलाडीको बीचमा मात्रै नभएर स्टाफमा पनि हुनुपर्छ । सिंगो क्लब र त्यसभन्दा बाहिर पनि हुनुपर्छ । फ्यानहरूसँग हामी सधैं आत्मीय हुनुपर्छ,’ पोचेटिनोले भने ।

पोचेटिनोले आफूले सबै खेलाडी र टिमसँग सधैं समान व्यवहार र सद्भाव राख्ने पनि बताए । ‘म नयाँ ठाउँमा छु । यहाँ मेरा लागि सबै बराबर र एकै छन् । म सबै खेलाडी, स्टाफसँग समान व्यवहार र सद्भाव राख्न चाहन्छु,’ उनले भने ।

पिएसजीले अघिल्ला प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकमा अर्जेन्टिनी पोचेटिनोलाई नियुक्त गरेको हो । उनी यसअघि इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक थिए । तर, त्यहाँबाट बर्खास्तमा परेपछि उनी खाली थिए ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १५:३१
Loading...